aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशतले बढे

  • रिता राउत
    रिता राउत
  • शनिबार, ०८ कार्तिक २०७७
इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशतले बढे

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दो देखिएको छ । अझ महामारीको कारणले सबै क्षेत्रको गतिविधिको परिवर्तनका कारणले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको हो । 

 मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो ।

पछिल्लो दुई वर्षमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । दुई वर्षमा नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशत बिन्दुले बढेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । यो अवधिमा मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या पनि करिब १६ प्रतिशत बढेको छ ।

०७५ असारमा ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ४९ लाख ८१ हजार रहेकामा दुई वर्षमा यो संख्या बढेर २ करोड २२ लाख ३७ हजार पुगेको प्राधिकरणको तथ्यांक छ । प्रयोगकर्ता बढेसँगै इन्टरनेटमा पहुँच पाउने जनसंख्या प्रतिशत ७४.४३ पुगेको प्राधिकरणले जनाएको छ । 

करिब तीन चौथाइ जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिए पनि फिक्स ब्रोडब्यान्ड इन्टरनेट भने १८ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । फिक्स ब्रोडब्यान्ड इन्टरनेटलाई विश्वसनीय र द्रुत गतिको इन्टरनेट मानिन्छ ।

प्राधिकरणको तथ्यांकअनुसार करिब ५५ लाख जनसंख्यामा मात्रै फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । ४५ लाख ३४ हजार जनसंख्याले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट पहुँच पाएको र साढे नौ लाख जनसंख्याले केबलमार्फत इन्टरनेटको पहुँच पाएको प्राधिकरणको तथ्यांक छ । 

फिक्स ब्रोडब्यान्डमा पहुँच भएको जनसंख्या धेरै देखिए पनि यो सेवाका वास्तविक ग्राहक भने ११ लाख ७१ हजार मात्रै छन् । एक परिवारले फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा लिएर त्यसमा करिब ५ जनाको पहुँच हुन्छ भन्ने मान्यताका आधारमा ५५ लाख जनसंख्यामा यसको पहुँच पुगेको तथ्यांक निकालिएको हो ।

पछिल्लो जनगणना अनुसार नेपालमा एक परिवारमा औसत ५ जना सदस्य हुन्छन् । फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने सबैभन्दा ठूलो कम्पनी वल्डलिंक कम्युनिकेसन र नेपाल टेलिकम हुन् । वल्डलिंकका ग्राहक ३ लाख ७५ हजार र टेलिकमका फिक्स ब्रोडब्यान्डतर्फका ग्राहक करिब २ लाख ५० हजार रहेको प्राधिकरणको तथ्यांक छ । 

दुई वर्षको अवधिमा फोरजी इन्टरनेटका उपभोक्ता पनि करिब तीन गुणा बढेका छन् । प्राधिकरणका अनुसार दुई वर्षअघि फोरजी प्रयोगकर्ताको संख्या १७ लाख ७० हजार थियो । यो वर्षको असारसम्ममा फोरजी उपभोक्ताको संख्या ४७ लाख ९४ हजार नाघेका छन् । प्रायः फोरजी उपभोक्ता एनसेलका रहेको प्राधिकरणले बताएको छ । एनसेलका फोरजी ग्राहक ३७ लाख ४६ हजार र नेपाल टेलिकमका त्यस्ता ग्राहक ८ लाख ४३ हजार छन् । 

 टेलिकमले डेढ वर्षअघिदेखि देशैभर फोरजी नेटवर्क विस्तार गरिरहे भए पनि उसका फोरजी उपभोक्ता भने विस्तार भएको देखिन्न । थ्रीजी सेवा उपयोग गर्नेको संख्या १ करोड १५ लाख ८९ हजार रहेको प्राधिकरणको तथ्यांक छ । यो सेवातर्फ भने सबैभन्दा बढी ग्राहक टेलिकमका छन् ।

टेलिकमको थ्रीजी सेवा लिनेको संख्या ८६ लाख २६ हजार र एनसेलको २९ लाख ६३ हजार छ । मोबाइल इन्टरनेटको प्रयोग गर्नेको संख्या जनसंख्याको ५५ प्रतिशत भए पनि मोबाइल प्रयोगकर्ताको संख्या भने जनसंख्याभन्दा बढी भएको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार टेलिकम, एनसेल र स्मार्ट टेलिकमका गरी नेपालमा कुल मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ७८ लाख ५९ हजार छ । यो सेवा प्रदायकहरूले जारी गरेको सिम कार्डको संख्याका आधारमा निकालिएको तथ्यांक हो । 

प्रतिक्रिया दिनुहोस