
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) साँझ दक्षिण एसियाली दुई टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । काउन्टी क्रिकेट मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दावी गरेका छन् ।
विगतका प्रतियोगिता हेर्ने हो भने बंगलादेशको तुलनामा श्रीलंका बलियो छ । सन् १९९६ को विश्वकप जितेको श्रीलंका २००७ र २०११ मा फाइनलमा पराजित भएको थियो । विश्वकपमा छैटौं पटक सहभागी बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन । यस विश्वकपमा श्रीलंका र बंगलादेश दुवैले तीन तीन खेल खेले छन् ।
श्रीलंकाले एक जित र एक हार खेपेको छ । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको थियो । श्रीलंका र पाकिस्तानबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो ।
बंगलादेशले एक खेलमा जित र दुई खेलमा हार खेपेको छ । बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो । बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेट र तेस्रो खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय ६ रनले पराजित भएको थियो । यसअघिका विश्वकपमा यी दुई टोलीबीच तीन पटक भिडन्त भएको थियो ।
जसमा तीनवटै खेल श्रीलंकाले जितेको थियो । श्रीलंका अहिले तीन अंकसहित तालिकाको पाँचौं र बंगलादेश दुई अंकसहित आठौं स्थानमा छन् । दुवै टोलीका लागि अघिल्लो चरणमा पुग्न आजको खेल निकै महत्वपूर्ण छ ।
प्रतिक्रिया दिनुहोस