aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
विमानस्थल

५४ मध्ये ३२ विमानस्थल सञ्चालनमा,  ७ मात्रै नाफामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
५४ मध्ये ३२ विमानस्थल सञ्चालनमा,  ७ मात्रै नाफामा

काठमाडौं । हाल देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेका विमानस्थलमध्ये अधिकांश विमानस्थल घाटामा सञ्चालन रहेका छन् ।

प्राधिकरणका अनुसार ७ वटा विमानस्थलमात्रै नाफामा छन् । नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भैरहवाको गौतम बुद्ध, नेपालगन्ज, चन्द्रगढी र धनगढी विमानस्थल नाफामा रहेका छन् । 

गत आर्थिक वर्ष २०७६/०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको थियो । सञ्चालनमा रहेका अन्य विमानस्थलको आम्दानी ६२ करोड ४९ लाखमात्र रहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले गत आवमा ८ अर्ब ८१ करोड ३९ लाख आम्दानी गरेको थियो । सो आम्दानीमा ७५भन्दा बढी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राधिकरणले प्राप्त गरेको प्राधिकरणको बजेट किताबमा उल्लेख  गरिएको छ ।  

धेरै आम्दानी गर्ने दोस्रो विमानस्थलमा पोखरा विमानस्थल रहेको छ ।  जसले गत आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ४८ लाख ४९ आम्दानी गरेको थियो।  आम्दानीका हिसावले तेस्रोमा परेको विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ ।

धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको भने नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ । 
 

१९ विमानस्थल सञ्चालनमा आएन  

राजनीतिक दबाबमा बनेका अधिकांश विमानस्थल बन्द छन् । देशभर अहिले पनि १९ वटा विमानस्थल सञ्चालमा आउने सकेका छैनन् । कतिपय विमानस्थलमा उडान भए पनि पछिल्लो समयमा यात्रु अभावमा उडान बन्द भएको छ ।

प्राधिकरणका अनुसार इलाम,  काङगेलडाडा, खिजी चण्डेश्वरी,  जिरी, स्याङबोचे, दार्चुला, महेन्द्रनगर, टिकापुर, मसिनेचौर, रोल्पा, डोरपाटन, बाग्लुङ, गुल्मी, मनाङ, गोरखा पालुङटार, मेघौली र लाङटाङ विमानस्थल बन्द छन् ।

सञ्चालनमा रहेका विमानस्थलहरू

झापाको चन्द्रगढी, मोरङको विराटनगर, राजविराज,थामखर्क, खानीडाडा, लामिडाडा, रुम्जाटार, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, लुक्ला, फाप्लु विमानस्थल सञ्चालनमा रहेका छन् । त्यस्तै डोल्पा, रुकुम, सल्ले, जुम्ला, चौरजहारी, नेपालगञ्ज, सुर्खेत,रारा, सिमिकोट, धनगढी, बाजुरा र साँफेबगर विमानस्थल सञ्चालनमा छन् । बझाङ, बैतडी, डोटी, जनकपुर, रापेछाप, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भरतपुर, सिमरा, भैरहवा विमानस्थल, दाङ, जोमसोम विमानस्थल पनि सञ्चालनमा छन् । 

नेपालमा अहिले निर्माण भइरहेका, बन्द तथा सञ्चालनमा रहेका विमानस्थलको संख्या ५४ पुगेको छ भने दुई वटा आन्तरिक विमानस्थल र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन अवस्थामा रहेको छ ।

३५ वटा विमानस्थलको मात्र धावनमार्ग कालोपत्रे भएको छ । यसैगरी देशभर ३५ वटा विमानस्थल मात्रै सञ्चालनमा छन् । तीन वटा विमानस्थल भर्खरैमात्र सञ्चालनमा आएका छन् । यी विमानस्थल बैतडी, बझाङ र डोडीका हुन् । विमानस्थल सञ्चालनमा आएपनि यात्रुको अभावले कतिपय विमानस्थल बन्द अवस्थामा रहेका हुन् । 


निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल

अहिले देशका थप तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन् । तीन विमानस्थलमध्ये दुई वटा विमानस्थल चालु आवमै निर्माण सम्पन्न गर्ने सरकारको योजना छ ।

 सरकारले बाराको निजगढमा एसियाकै ट्रान्जिट हब विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । विमानस्थल निर्माणस्थलमा रहेको ११० विगाह जग्गामध्ये ६५ प्रतिशतभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ । अहिले विमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिच इन्टरनेसनलसँग आर्थिक प्रस्ताव मागिएको थियो । जुरिचले समयमै प्रस्ताव नहालेपछि जुरिच निर्माणबाट बाहिरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिले निर्माण भइरहेको छ । यसको काम पनि ६० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । 

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त विमानस्थल सरकारले चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो विमानस्थल निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भएको छ । 

निर्माणाधीन आन्तरिक विमानस्थल

नेपाल नागरिक उड्ययन प्राधिकरणमा अनुसार अहिले दुई वटा आन्तरिक विमानस्थल निर्माण भइरहेका छन् । अछाम र कालिकोटमा नयाँ विमानस्थल बन्दै छ  । उक्त विमानस्थल अछामको कमला बजारमा र कालिकोटमा निर्माण हुन लागेको प्राधिकरणले जानकारी दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस