aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

दैलेखमा कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

  • रासस
    रासस
  • आइतबार, १६ कार्तिक २०७७
दैलेखमा कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

दैलेख । दशैँ सकेर कार्यक्षेत्र फर्कने र तिहार मनाउन जिल्ला आउनेको आवतजावत र भीडभाड बाक्लिएसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा तीब्ररुपमा फैलिन थालेको छ । पछिल्लो तीन दिनको तथ्यांक हेर्दा संक्रमणको ग्राफ बढ्दो छ । पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबमध्ये शत प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । 

गत मंगलबार पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाबमध्ये ६० प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो । यो संख्या बढेर बुधबार ८० प्रतिशतलाई संक्रमण पुष्टि भयो । बिहीबार भने शतप्रतिशतलाई संक्रमण पुष्टि भएको दैलेख अस्पताल पीसीआर प्रयोगशालाका इन्चार्ज शंकर शाहीले जानकारी दिए । उाले बिहीबार १२ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएको १२ जनामै संक्रमण पुष्टि भएको इन्चार्ज शाहीले जानकारी दिनुभयो । शुक्रवार भने २८ जनाको पिसिआर परीक्षण गर्दा ९ जनाको पोजेटिभ रिर्पोट आएको छ ।

परीक्षण गरिएका शतप्रतिशतमा कोरोना संङक्रमण पुष्टि भएपछि प्रयोगशालाका इन्चार्ज शाहीले सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै दैलेखमा कोरोना संङक्रमणको जोखिम बढ्दै गएको र सावधानी नपनाए स्थीति भयावह हुने संकेत गरे । पछिल्लो समय पिसिआर परीक्षणका लागि सरकारले दुई हजार तोकेपछि जिल्लामा पिसिआर परीक्षण गर्नेको संख्यामा कमी आए पनि परीक्षण गरिएको शतप्रतिशतमा कोरोना संङक्रमण भएको बताए ।

पछिल्लो समय कोरोना संङक्रमण पुष्टि भएकाहरुमा कडा ज्वरो आउने, खोकी लाग्ने र स्वास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएका छन । स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले यहि अवस्था रहे जिल्लाले केही गर्ने नसक्ने बताए । उनले भेन्टीलेटरमा राख्न सकिने बिरामी भनेको एक दुई जना मात्र हो सबैमा त्यस्तो लक्षण देखिए रिफर गर्नुबाहेक अन्य कुनै उपाय नभएको बताए । 

फोकल पर्सन थीरप्रसाद रेग्मीले जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै सजग र सुरक्षित रहन आग्रह गर्नुभएको छ । रेग्मीका अनुसार शनिवार एक हजार तीन सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । तीमध्ये एक हजार दुई सय ४८ जना डिस्चार्ज भइसकेका छन् । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय १७ जना छ ।

यता जिल्ला प्रशासन कार्यालय दैलेखले शनिवारसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, संस्थान, संघ संस्था र बैंक तथा बित्तिय संस्थाहरुको अत्यावश्यक कार्यवाहेक सम्पूर्ण सार्वजनिक सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको छ । कर्मचारीहरुमा समेत संक्रमण पुष्टि हुन थालेपछि समुदायस्तरसम्म संक्रमण फैलिनबाट रोक्न सार्वजनिक सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उनले प्रशासनकै कर्मचारीमा कोरोना संङक्रमण पुष्टि भएपछि आइतवार देखी अनिश्चितकालीन सबै सेवा ठप्प पारिएको बताए । 

नारायण नगरपालिकाले पनि एक हप्ता सम्म सबै सेवा ठप्प भएको जानकारी दिएको छ । कर्मचारी र जनप्रतिनिधीमा समेत कोरोना संङक्रमण भएपछि नगरपालिका एक हप्ताका लागि सिल गरेर सेवा ठप्प पारेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस