
फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा.एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन ।
सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहनु भएका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन । अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उहाँले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ ।
गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए ।
चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उहाँलाई निस्कासन गर्ने चेतावनी दिएका हुन ।
“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उन आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काएदै भने । एपी
प्रतिक्रिया दिनुहोस