aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हेलिकप्टर कम्पनीहरूको १० हजारदेखि ३२० हजारसम्मका आकर्षक ‘हेलि टूर प्याकेज’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
हेलिकप्टर कम्पनीहरूको १० हजारदेखि ३२० हजारसम्मका आकर्षक ‘हेलि टूर प्याकेज’

काठमाडौं । कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई उकास्न हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले यो संकटको अवस्थामा आफूहरू व्यवसायिक रुपमा टिक्न ‘हेलि टूर प्याकेज’ शुरु गरेका हुन् । नेपाली ग्राहकलाई समय अनुसार सेवा दिन हेलिकप्टर कम्पनीहरूले आकर्षक प्याकेज ल्याएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव तथा हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगराज शर्मा कँडेलले बताए । 

हाल नेपालमा १० वटा हेलिकप्टर कम्पनीका ३४ वटा हेलिकप्टर छन् ।  सोमध्ये १२ वटा मात्रै उडानमा छन् भने बाँकी २२ वटा हेलिकप्टर काम नपाएर थन्किएको अवस्था छ । ‘कम्पनीहरूले आफूलाई व्यवसायिक रुपमा टिकाउन  अधिकांश कम्पनीले हेलि टूर प्याकेज शुरु गरेका हुन्,’ उनले भने ‘ सर्वसाधारण यात्रुलाई आकर्षित गर्न प्याकेज ल्याएका हौं । कँडेलका अनुसार कर्मचारीलाई तलब खुवाउन पनि समस्या परेकाले सञ्चालन खर्च धान्नकै लागि भए पनि सस्तोमै टूर प्याकेजको सेवा सञ्चालन गर्न कम्पनीहरू बाध्य भएका हुन् ।  

कम्पनीहरूले काठमाडौंबाट गोसाइँकुण्ड, मनकामना, लाङटाङ, क्यान्जिन गुम्बा, हेलम्बु, धुन्चे, सौराहा, लुम्बिनी, चितवन, चुम भ्याली, नगरकोट, चन्द्रागिरी, दक्षिणकालीसहितको गन्तव्यको दुईतर्फी हेलि टूर प्याकेज ल्याएका हुन् । हेलि एभरेष्टले काठमाडौंबाट विभिन्न गन्तव्यको लागि १५ वटा प्याकेज बनाएको महासचिव कँडेलले बताए । 

यस्ता छन् कम्पनीहरूको टूर प्याकेज

हेलिकप्टर कम्पनीहरूले १० हजारदेखि तीन लाख २० हजारसम्मका टूर प्याकेज ल्याएका महासचिव कँडेलले बताए । हेलि टूर प्याकेजमा त्रिभुवन विमानस्थनबाट दक्षिणकाली, चन्द्रागिरि र नगरकोट १० हजार रुपैयाँमा नै शयर गर्न सकिन्छ भने लुम्बिनी यात्राको लागि ३ लाख २० हजार खर्च लाग्ने छ । प्याकेजमा चुम भ्यालीको यात्राको लागि २ लाख ५० हजार लाग्ने गरी प्याकेज तयार भएको कँडेलले बताए । 

टुर प्याकेजमा पनि गोसाइँकुण्ड र पाथिभराको लागि धेरैले चासो दिएको उनी बताउँछन् ।  गोसाइँकुण्डको टूरमा एकै परिवारका वा पीसीआर चेक भएर आएको अवस्थामा मिश्रित यात्रुलाई प्रतिव्यक्ति १९ हजार रुपैयाँमै सेवा दिने प्याकेज छ । 
गोसाइँकुण्ड, लाङटाङ, चन्द्रागिरि, नगरकोटसहिको टुरलाई ग्राहकले रुचाउन थालेकोले हेलिकप्टर कम्पनीको भनाइ छ । यस्तो प्याकेजमा कर्पोरेट हाउसमा काम गर्ने कर्मचारी, विश्वविद्यालयका प्राध्यापक तथा आफ्नै आम्दानी भएका युवा वर्गले रुचि देखिएको छ । 

चार वर्षअघि सिम्रिक एअरले टुर प्याकेजको शुरुआत गरेपछि अन्य हेलिकप्टर पनि यसतर्फ आकर्षित हुन थालेका हुन् । सिम्रिकले काठमाडौंबाट पाथीभरा, धरानबाट भेडेटार, पोखराबाट मुक्तिनाथसहितको गन्तव्यको लागि हेलि टूर प्याकेज सञ्चालन गर्दै आएको छ । 

यो वायुसेवा प्रदायक कम्पनीले आफ्ना पाँच वटा हेलिकप्टरमध्ये दुई वटाबाट कोरोनाका बिरामीको उद्धार गर्दै आएको छ भने आकस्मिक उद्धारसहितको प्याकेजका लागि अन्य तीन हेलिकप्टर तयारी अवस्थामा राख्दै आएको छ । 
६ वटा हेलिकप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकप्टरले पनि गएको वर्षदेखि गोसाइँकुण्डको टूर प्याकेज सञ्चालन गरिरहेको छ । दैनिक दुई वटा गोसाइँकुण्ड हेलि टूर गराइरहेको छ ।

कुन कम्पनीसँग कति छन् हेलिकप्टर

श्री एअरका दुई वटा हेलिकप्टरमध्ये एउटा मात्रै उडानमा छ भने अर्कोलाई प्याकेजमा उडान गर्ने तयारी कम्पनीले गरेको छ ।  उडानमा रहेका हेलिकप्टरमा सीम्रिक एअर र प्रभु हेलिकप्टरको २÷२ वटा अल्टिच्युड, हेलि एभरेष्ट, कैलाश, माउन्टेन, श्रीएअर, एअर डाइनेष्टी, समिट र मनाङ एअरका एक÷एक वटा छन् ।  १० वटा कम्पनीसँग न्यूनतम दुईदेखि ६ वटासम्म हेलिकप्टर छन् । थन्किएर बसेका हेलिकप्टरमा हरेक कम्पनीको १ देखि ३ वटासम्म छन् । सबैभन्दा बढी प्रभुसँग ६ वटा र सीम्रिकसँग पाँच वटा हेलिकप्टर छन् भने बाँकी आठ वटा कम्पनीसँग दुईदेखि चार वटासम्म गरी २३ हेलिकप्टर छन् । 


 

प्रतिक्रिया दिनुहोस