
उदयपुर । उदयपुरमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ४ जना महिला र ६ जना पुरुष रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २६, ४६, २२, ४१, ३३, १३, ४५, ५६, ३२ र १६ बर्ष उमेर समुहमा कोरोना देखिएको हो । उनीहरु सबैको मंगलबार स्वाव संकलन गरी बिराटनगर पठाइएको थियो । कोरोना पोजेटिभ देखिएका नगरपालिकाका कर्मचारीमध्ये पाँच जना प्राविधिक रहेका छन् भने बाँकी अन्य शाखाका र एक बैंकका कर्मचारी पनि रहेका छन् ।
योसँगै उदयपुरमा संक्रमितको संख्या दुई सय ५० जना पुगेको छ । त्यसमध्ये ८० जना महिला र एक सय ७० जना पुरुष रहेका छन् । त्यसैगरी हालसम्म महिला २१ र पुरुष ३२ गरी ५३ जना कोभिड अस्पताल बेल्टारमा उपचाररत रहका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबै भन्दा बढि त्रियुगा नगरपालिकामा संक्रमित देखिएका छन् । त्रियुगामा एक सय आठ जना, बेलकामा ५९ जना, कटारीमामा ५६ जना, चौदण्डिगढी नपामा २० जना, ताप्लि गाउँपालिकामा तीन जना, उदयपुरगढी र रौतामाईमा २÷२ जना रहेका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार हालसम्म ६ हजार ९९ जना पुरुष र दुई हजार एक सय ५० जना महिला गरी आठ हजार दुई सय ४९ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको छ त्यसमध्ये आठ हजार दुई सय ३१ जनाको रिर्पोट आईसकेको छ ।
कार्यालयका अनुसार हाल क्वारेन्टाईनमा तीन जना महिला र ९ जना पुरुष गरी १२ जना रहेका छन् भने होम क्वारेन्टाईनमा १८ जना महिला र चार सय ५४ जना पुरुष गरी चार सय ७२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस