aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना संक्रमणबाट २३ वर्षिया युवतीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
कोरोना संक्रमणबाट २३ वर्षिया युवतीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक् जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया युवती रहेकी छिन् । 

पिसाबमा समस्या देखिएपछि छ दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

उनका अनुसार अस्पतालले बुधबार उनको पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र बिराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस