
काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने भएको छ । करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,सूचना तथा प्रसारण विभागबाट अनुमतिसमेत प्राप्त भइसकेको बताइएको छ ।
सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईँले तिहारसम्म २४ घण्टा प्रसारण हुने गरी तयारी भएको जानकारी दिए ।
उनले अत्याधुनिक उपकरणको प्रयोग गरी सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौँडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचार तथा समाचारमूलक सामग्रीलाई जोड दिइने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस