
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्ने सम्बन्धी प्रस्ताव छिटै मन्त्रीपरिषदमा लैजाने तयारी भएको समितिका सदस्य सांसद सरिता न्यौपानेले जानकारी दिइन् । मितिमा उपस्थित सचिव लक्ष्मण अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका हुन् ।
यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो । आदेश विरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो । कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषदको निर्णयको सबैतिरबाट विरोध र आलोचना भएको थियो । बैठकमा सहभागी सांसदहरूले स्वास्थ्य संकट (हेल्थ इमर्जेन्सी) घोषणा गर्न प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस