
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बङ्गलादेशसित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो । बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा आज भएको खेलमा खेलको १०औँ मिनेटमा बङ्गलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए ।
मध्यान्तरपछिको खेलमा खेलको ८०औँ मिनेटमा महबुबुर रहमानले बङ्गलादेशका लागि दोस्रो गोल गरेका थिए । नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औँ मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औँ मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल गर्न भने सकेनन ।
यस्तै खेलको ३९औँ मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाउनु भएको थियो । खेलको ५६औँ मिनेटमा नेपालका पासवानले गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सक्नुभएन । यसैगरी खेलको ७२औँ मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ ।
तीन खेलाडीको डेब्यु
बङ्गलादेशसितको आजको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका थिए । डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ छन । विकासले खेलको प्रारम्भमै डेब्यु गरेका थिए । यस्तै एरिक खेलको ४२औँ मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरे । यसैगरी खेलको ६८औँ मिनेटमा दर्शन पासवानका स्थानमा मैदानमा पसेका थिए ।
कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । रासस
प्रतिक्रिया दिनुहोस