aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

वाग्मती सौन्दर्यीकरणको काम अघि बढाउन सहमत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
वाग्मती सौन्दर्यीकरणको काम अघि बढाउन सहमत

काठमाडौं । लामो समयदेखि रोकिएको वाग्मती सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन सरोकार भएका निकाय सहमत भएका छन् । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरीमा आइतबार भएको बैठकमा सरोकार भएका निकाय रोकिएको सौन्दर्यीकरणको काम अघि बढाउन सहमत भएका हुन् । 

आइतबारको बैठकमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहित समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, एशियाली विकास बैंकका प्रतिनिधि, गोठाटारमा मुआब्जाको माग गर्दै सौन्दर्यीकरणको काम रोक्दै आएको वाग्मती पीडित स)घर्ष समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

बैठकमा आइतबार भएको सहमतिअनुसार सोमबारदेखि गोकर्णबाट गुह्येश्वरीसम्म रोकिएको सौन्दर्यीकरण काम हुने भएको छ । एशियाली विकास बैंक्को ऋण सहयोगमा भइरहेको सौन्दर्यीकरणको अवधि आगामी पुस महिनामा सकिन लागेकाले एक वर्ष म्याद थप गर्न शहरी विकास र अर्थ मन्त्रालय एवं बैंकसँग अनुरोध गर्ने निर्णय पनि गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । 

वाग्मती पीडित संघर्ष समितिले उठाएको मुआब्जाको मागका सम्बन्धमा नगरपालिका, अधिकार सम्पन्न वाग्मतीले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि आइतार भएको छ । सौन्दर्यीकरण व्यवस्थापनलगायत कार्य विधि तयारीमा वाग्मती पीडित संघर्ष समिति र नगरपालिकाको समेत प्रतिनिधित्व हुनेभएको छ ।

वाग्मती पीडित संघर्ष समितिले अधिकार सम्पन्न वाग्मतीसँग राखेका मागका समबन्धमा शहरी विकास मन्त्रीस्तरबाट गठित समितिलाई छिटो काम सम्पन्न गर्न अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको सूचना अधिकारी अर्यालले जानकारी दिए ।

गोकर्ण ब्यारेजबाट गुह्येश्वरीसम्म छ हजार १०० मिटर र तिलगङ्गा पुलबाट सिनामङ्गलसम्म ९०० मिटर गरी करिब सात किमी क्षेत्रमा नदी सौन्दर्यीकरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस