aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकी नागरिकले डिसेम्बरमा कोरोना विरुद्धको खोप लगाउन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
अमेरिकी नागरिकले डिसेम्बरमा कोरोना विरुद्धको खोप लगाउन पाउने

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्। अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएको बीबीसीले जनाएको छ । 

डा.मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाएका छन् । देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन्।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ। अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन्। दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो। खोप लिएपछि कोरोना भाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी(सेलहरू आफैँ बनाउँछ। फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ। डा. स्लावीले सीएनएनसँग अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस