aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

फोरजी सेवा प्रयोगकर्तालाई टेलिकमको सुझावः मोबाइल सेट किन्दा नै ध्यान दिनुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
फोरजी सेवा प्रयोगकर्तालाई टेलिकमको सुझावः मोबाइल सेट किन्दा नै ध्यान दिनुस्

काठमाडौैं । नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेसँगै मोबाइल सेट खरिद गर्दा नै ध्यान दिन आम ग्राहकलाई सुझाएको छ । सरकारी स्वामित्वमा सञ्चालित कम्पनी टेलिकमले यो सेवा  विस्तार गरेसँगै फोरजी सेवा उपयोग गर्नका लागि आम ग्राहकलाई मोबाइल सेट किन्दा नै ध्यान दिन भनिएको हो । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु भएको हो । 

टेलिकमले प्रेस विज्ञप्तीमार्फत फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि विभिन्न प्राविधिक सेवामा ध्यान दिन पनि आग्रह गरेको छ । टेलिकमले एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखेरमात्रै नयाँ मोबाइल सेट खरिद गर्न आग्रह गरेको टेलिकमका प्रवक्ता राजेन्द्र जोशीले जानकारी दिए ।

दुबै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गरी मोबाइल खरिद गर्न आम ग्राहकलाई अनुरोध समेत टेलिकमले गरेको छ । ‘मोबाइल सेटको विशेषता र  भौगोलिक  धरातलीय अवस्था आदिले समेत फोरजी सेवामा प्रत्यक्ष असर पार्ने भएकोले यसमा ध्यान दिन सके उक्त सेवाको गुणस्तरमा निरन्तर एकरुपता हुन्छ,’ प्रवक्ता जोशीले भने ।

बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रशारित फोरजी सेवालाई ग्रहण नगर्ने भएकोले  उल्लेखित एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहज ब्यान्डबाट सेवा लिन सकिने मोबाइल सेट खरिद गर्न टेलिकमले सुझाएको छ ।

फोरजी सेवाका ग्राहकले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेरमात्र मोबाइल सेट खरिद गर्न सुझाएको हो । मोबाइल सेट बक्समा कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो सम्पूर्ण विवरण लेखिएको हुने भन्दै  आम ग्राहकको ध्यान आकर्षण समेत गराएको हो । मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गरेर मोबाइल सेट खरिद गर्न सकिने बताइएको छ ।

टेलिकमले फोरजी सेवा एक हजार ८०० मेगाहर्ज ९ब्यान्ड ३० र ८०० मेगाहर्ज ९ब्यान्ड २०० मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोलमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुने बताए ।  

फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको क्षेत्रबाट अर्को ब्यान्डको क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुबै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोे छ ।


 

प्रतिक्रिया दिनुहोस