
काठमाडौं । पर्यटन व्यवसायीहरूले सरकारी नीति स्पष्ट नभएको गुनासो गरेका छन् । सरकारले गत बजेटमार्फत ल्याएको ‘देश दर्शन’ भनेको के हो ? स्पष्टता हामीले खोजेका हौं,’ पर्यटन व्यवसायी तथा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने । ‘देश दर्शन’ भनेर अमूर्त लेखिएको छ । यसको स्पष्टता हामीले खोजेका होैं ।’
यसलाई कार्यावन्यनमा लैजान सातामा दुई दिन विदा दिनेदेखि वार्षिक विदा दिनेमा समेत ध्यान दिनुपर्ने शाहले बताए । नीतिगत कुरालाई स्पष्ट पार्दै सातामा दुई दिन दिने विदालाई कार्यान्वयनमा ल्याउन निर्णयहरू गरिनु पर्छ,’ अनिमात्र आन्तरिक पर्यटक विस्तार भइ पर्यटन व्यवसाय जोगिन सक्छ ।’
‘पर्यटन व्यवसायलाई जोगाउन सरकार अलि सिरियस भएर लाग्नु पर्यो भन्ने हाम्रो माग हो,’ उनले आर्थिकन्युजसँग भने ‘सरकारी कर्मचारीलाई वार्षिक रुपमा घुम्न जाने व्यवस्थाअनुरुप सोही अनुसारको विदा र खर्चको समेत व्यवस्था गरिदिनु पर्छ ।’
अहिले सरकारले पर्यटन क्षेत्रलाई खुला गरेपनि बाह्य पर्यटन आउन सक्ने अवस्था बनिसकेको छैन । विदेशी पर्यटक नेपाल आएपछि विरामी परे भने कसले कसरी व्यवस्थापन मिलाउने भन्नेमा सरकार स्पष्ट छैन । नेपालीलाई त आईसीयू तथा भेन्टिलेटर नभइरहेको बेला विदेशीलाई कसले दिन्छ । यसमा पनि सरकारले स्पष्ट गर्नुपर्ने अवस्था आएको उनले गुनासो गरे ।
साथै संघीय सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै ट्रेकिङ र माउण्टेरिङमा जाने केही विदेशी पर्यटक आएपनि स्थानीय तहको अवरोध छ । विभिन्न झमेला छ । पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने वाध्यता छ । यस्तो अवस्था को पर्यटन आउँछ । न ज्यानको सुरक्षा छ, मात्र प्रक्रियागत झण्झट बढी छन् ।
कानुनी प्रावधान त माथिदेखि तलसम्म एउटै हुनुपर्यो नि कसको कानुन मान्ने, कस्को नमान्ने ? ‘पर्यटक दुविधामा छन्,’ उनले थपे ‘यस्तो अन्योलताको अवस्था हुनु भएन । सरकारको काम कर र रोयल्टी लिनेमात्र होइन, नीतिगत स्पष्टता पनि पारिदिन आवश्यक छ । जुन स्पपष्टताले व्यवसाय गर्न सहज र सहजीकरण होस् ।
नाफा कमाउनभन्दा पनि व्यवसायलाई टिकाउनकै लागि आन्तरिक पर्यटकको आगमन अहिलेको आवश्यकता रहेको उनले बताए । कोरोनाका कारण बाह्य पर्यटक आउन सक्ने वातावरण नहुँदा पर्यटन उद्योग र यसमा भएको लगानीलाई जोगाइराख्न आन्तरिक पर्यटनको विकल्प नभएको सरकारले पनि स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय यात्रु (इन्टरनेसनल ट्राभलर) १.४ बिलियन रहेकोमा त्यसको ६ गुणा अर्थात् ९ बिलियनको संख्यामा आन्तरिक यात्रुको चहलपहल भएको देखाउँछ ।
लयमा फर्कदै पर्यटन व्यवसाय
कोभिड—१९ का कारण संकटमा परेको पर्यटन क्षेत्रमा पछिल्लो समय केही चहलपहल बढ्न थालेको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवन, सौरहामा पर्यटकको चहलपहल बढ्न थालेको हो । काठमाडौं लगायतका होटलहरूको अकुपेन्सी विस्तार बढ्न थालेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष शाहका अनुसार पछिल्लो समय करिब १० प्रतिशतको हाराहारीमा होटल अकुपेन्सी हुन थालेको छ । ‘होटलहरू बन्द गर्नुपर्ने अवस्थाबाट केही माथि उठेपनि यसको खर्च धान्न सक्ने अवस्था आइसकेको छैन । आन्तरिक पर्यटक र केही बाहिरका पर्यटक पनि आफैले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी आइरहेका छन्,’ शाहले भने ।
कोभिडका कारण ठप्प बनेको होटेल तथा रेस्टुराँको अकुपेन्सी दर विस्तारै बढ्न थालेको हो । आठ महिनादेखि निरस भएर घरमै बसेका नेपाली सुरक्षाका उपाय अपनाएर विस्तारै घुमघाममा निस्कन लागेका छन् । शाहले भने, ‘अवस्था सुधारोन्मुख छ । आशा गरौं अहिलेको अवस्थामा यो दर वृद्धि भएर कम्तीमा ३० प्रतिशतको हाराहारीमा पुग्न सक्छ ।’ उनका अनुसार मुलुकभित्र आन्तरिक पर्यटकको घुमफिर विस्तारै बाक्लिँदै गएको छ ।
‘कर्मचारीलाई तलब खुवाउन समेत हामी नसक्ने अवस्थामा छौं,’ उनले भने ‘सरकारले कर्मचारीको तलब तथा कार्यालय सञ्चालनको लागि दिन्छु भनेको लोन दिन सकिरहेको छैन । अहिले नै ३० देखि ४० प्रतिशत साना होटल बन्द भइसके उनले भने । सरकारले दिने भनेको कर्जा कहिले दिन्छ ।
गत वर्ष यही समयमा आन्तरिक र बाह्य पर्यटकका कारण होटेल तथा रेस्टुराँ ९० प्रतिशतभन्दा बढीले भरिभराउ थिए ।
प्रतिक्रिया दिनुहोस