
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड बचत हुने देखिएको छ । सातामा दुई दिन विदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनले देखाएको हो । आव २०७७/७८ को बजेटमा सामान्य अनुमान गर्दा हप्तामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभरिमा इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले निजी क्षेत्रमा समेत यो बिदा दिने प्रस्ताव लाभदायक हुने बताइएको छ । निजी क्षेत्रले यस प्रकारको प्रावधान कार्यान्वयन गर्दा घरभाडा बाहेकका अन्य सञ्चालन खर्च कटौती गर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
समितिले प्रतिवेदनमा दुई दिने बिदा प्रस्ताव उपयुक्त हुने केही निश्चित कारण पनि पेस गरेको गरेको छ । सुझाव तथा प्रतिक्रियाका लागि सार्वजनिक गरिएको प्रतिवेदनमा दुई दिने बिदाले उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन प्रवद्र्धन हुने, लैङ्गिक समानता कायम गर्न सहयोग पुग्ने, व्यक्तिगत जीवन सन्तुलित हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्यासलाई केलाएकोे छ । विदेशमा पाँच दिनमा नै कर्मचारी र श्रमिकबाट ४० घण्टाको काम लिने र हप्तामा दुई दिन बिदा दिने प्रावधान रहेको उदाहरण पेस गरेके छ । तर, नेपालमा ४० घण्टाकै कामका लागि कर्मचारी र श्रमिक हप्तामा छ दिन कार्यालय गएपनि अनुत्पादक देखिएको छ ।
खर्चिलो भएको ठहर गरिएको छ । दुई दिने बिदाले यातायात र इन्धनको उपयोगमा कटौती र खर्च घट्नुका साथै केही मात्रामा कार्बन उत्सर्जनमा समेत कमी आई पर्यावरणीय सन्तुलनमा समेत मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
अहिले नेपालमा आइतबारदेखि बिहीबारसम्म सातामा ५ दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन हुँदै आएको छ भने शुक्रबार १०ः०० देखि ३ः०० बजेसम्म सञ्चालन हुने हुने गरेको छ । पाँच कार्यदिनमा दैनिक एक/एक घण्टाको दरले समय बढाइदिँदा सेवाग्राहीले अनावश्यक कुर्न नपर्ने र छ दिनमा हुने काम पाँच दिनमा सम्पन्न हुने आशय समितिले पेश गरेको छ । सातामा ६ दिन कार्यालय जानका लागि तयार हुने र बाटो वित्ने समयको समेत हिसाव गर्दा सातामा १२ घण्टा त्यतिकै खेरा गएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
अन्य धेरै देशमा सातामा ५ कार्यदिनमै ४० घण्टा काम लिएपनि नेपालमा ४५ घण्टा काम गरिएको कामभन्दा उत्पादनमूलक देखिएको प्रशंगलाई देखाउँदै खर्च कटौती तथा समय बचतका लागि यो प्रावधान उपयुक्त हुने अध्ययन प्रतिवेदनले देखाएको हो ।
विश्वका १२७ देशमध्ये ११५ देशमा सातामा ५ दिन सरकारी कार्यालय सञ्चालन हुने गरेको छ । विश्वका तथ्यांक उपलब्ध भएका १२७ देशमध्ये ९१ प्रतिशत देशमा सातामा दुई दिन विदा हुने व्यवस्था छ भने एशियाका ४३ देशमध्ये ३८ देशमा सातामा दुई दिन विदा हुने गरेको छ । सार्कका ८ देशमध्ये नेपालमा मात्रै सातामा १ दिनमात्रै विदा हुने गरेको छ ।
यीमध्ये ८८ देशमा सातामा ४० घण्टा, ८ देशमा ४० भन्दाकम कार्यालय समय तोकिएको छ । ३१ देशमा सातामा १ दिनमात्रै विदा हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अहिले नेपालमा ५२ वटा शनिवार सहित ६९ दिन सबैलाई र समूह तथा स्थान विशेषले पाउने विदा २३ दिन गरी जम्मा ९२ दिन विदा हुने गरेको छ । आइतबार पनि विदा दिने प्रावधान लागू भएका वर्षमा १०४ दिन शनिबार र आइतबारको विदा र अन्य २३ दिन गरी १०७ दिन विदा हुनेछ ।
नेपालमा दिनप्रतिदिन एकात्मक परिवारको संख्या बढिरहेको र श्रीमान् श्रीमती व्यस्त रहने हुँदा काम तथा व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन, बालबच्चाको उचित रेखदेख तथा स्याहारसुसार गर्न समेत सातामा दुई दिन विदा उचित हुने स्पष्ट पारिएको छ । संघीयता कार्यान्वयनसँगै अधिकांश सेवा स्थानीय स्तरबाटै लिन सकिने भएकाले दुई दिन बिदाका कारण सेवाग्राहीले दुःख पाउने अवस्था नरहने पनि प्रतिवेदनमा उल्लेख छ ।
दुई दिन बिदा हुँदा घुमघाममा निस्कने आन्तरिक पर्यटन प्रवद्र्धन हुने प्रतिवेदनमा दाबी गरिएको छ । कोरोना महामारीबाट शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन यसले सहयोग पुग्ने जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको समितिमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस