aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रोमाञ्चक पदयात्राको सोचमा हुनुहुन्छ ? यो मार्ग बन्न सक्छ उत्कृष्ट छनोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ मंसिर २०७७
रोमाञ्चक पदयात्राको सोचमा हुनुहुन्छ ? यो मार्ग बन्न सक्छ उत्कृष्ट छनोट

काठमाडौं । अहिले काठमाडौं उपत्यका आसपास पैदल यात्रामा निस्कने क्रम निकै बढेको छ । तर, पैदल यात्राका लागि उपयुक्त पैदल मार्गको पहिचान गर्न नसक्दा धेरै यस्ता यात्रीहरुले सोचे जति आनन्द भने लिन सकिरहेका छैनन् । 

हुन पनि धेरै जसो मानिसहरु उपत्यका नजिकका डाँडाहरुमा एक दिने पैदल यात्रा गर्ने गर्छन । किनकी उनीहरुलाई नजिकका राम्रा पैदलमार्गहरुबारे पर्याप्त जानकारी नै छैन । त्यसैले,रोमाञ्चक यात्राका लागि केहि राम्रा पदमार्गहरु ओझेलमा परेका छन् ।  

आज हामी त्यस्तै ओझेलमा परेको मध्ये एक रोमाञ्चक पदयात्रा यहाँहरुलाई गराउँदैछौँ, पदयात्राको फोटो फिचर र अन्य आवश्यक सूचनाहरु मार्फत । यो पदयात्राको थालनी गर्न सर्वप्रथम तपाईले काठमाडौंबाट दोलालघाटसम्म दुई घण्टाको यात्रा बसमा गर्नु पर्ने हुन्छ । 

दोलालघाटबाट थप एक घण्टाको यात्रापछि तपाई सुकुटे पुग्नुहुनेछ । सुकुटेबाट २० मिनेटमा बलेफी पुग्नु हुनेछ । बलेफीबाट जलबीरे १० किलोमिटर छ । त्यसबाट अगाडी बढेपछि कात्तिके पुग्नु हुनेछ । जसका लागि तपार्इले बसमा २ घण्टाको यात्रा गर्नु पर्ने हुन्छ । कात्तिकेबाट बोल्डेसम्म पुगेपछि तपाईको खास पैदलयात्रा शुरु हुन्छ । जसका लागि बलेफीबाट बोल्डे पुग्न लोकल बसमा ४ घण्टा र मोटरसाइकलमा भए दुई घण्टा समय व्यतित हुन्छ । बोलडेबाट तपाई पैदलयात्रा गर्दै १ घण्टा ४५ मिनेटमा गुम्बागाउँ पुग्नु हुन्छ ।


त्यहाँ थप एउटा साहसिक र रोमान्चक यात्राको तयारी गर्नु पर्ने हुन्छ । किनकी त्यसपछि ६ घण्टा ३० मिनेटको यात्रा गरेपछि तपाई तेम्बाथाङ पुगेर विश्राम गर्न सक्नुहुनेछ । 

तेम्बाथाङबाट डिपुसम्म ३ घण्टाको यात्रा तय गर्नु पर्ने हुन्छ । बाटोमा तपाईले तेगा गाउँ भेट्नु हुनेछ । यदि तपाई खोलाको बाटो जान चाहानु हुन्छ भने मात्र डेढ घण्टामा डिपु पुग्नु हुनेछ । 


डिपुबाट छेताङ पुग्न साढे ३ घण्टा लाग्छ । छेताङबाट पेमासाल पुग्न साढे ६ घण्टा लाग्छ । ३४५० उचाईमा रहेको पेमासाल पुग्नु भन्दा ४५ मिनेट अघि नै तपाईले हजार गुफा भेट्नु हुनेछ । अब तपाई वास्तवमै रमाईलो महशुस गर्न सक्नु हुनेछ किनकी पेमाशालबाट साढे ३ घण्टाको यात्रा पछि ३९०० मिटर उचाईमा रहेको ग्ल्यासियर क्याम्प (हिम नदी) पुग्नु हुनेछ । 


ग्ल्यासियर क्याम्पबाट डेढ घण्टामा आइसफल पुग्नु हुन्छ भने थप साढे दुई घण्टाको यात्रापछि नयाँ बेसक्याम्प पुग्नु हुनेछ । ४४०० मिटर उचाइमा रहेको यो क्याम्पबाट थप दुई घण्टा चट्टाने बाटो हिडेपछि ३८५० मिटरमा रहेको खर्क पुगिन्छ । 


यसपछि तपाई उकाली ओराली र खोलाको बाटो हुँदै लगभग ३ घण्टा हिडेपछि निकै आकर्षक दृष्य अवलोकन गर्ने भ्यू पइन्ट पुग्नु हुनेछ ।

४००० मिटरमा रहेको गोथ क्याम्पबाट एक घण्टाको यात्रापछि तपाई ४१०० मिटर उचाइमा रहेको पाँच पोखरी पुग्नु हुनेछ । 


यहाँ तपाईले बास बस्नका लागि होटल पनि पाउनु हुनेछ । अब अगाडीको यात्रा भने अहिलेकै लागि त्यति सहज छैन । किनकी यहाँबाट अगाडीको गन्तब्य भनेको जुगल हिमालको बेसक्याम्प हो । जहाँसम्म जाने बाटो र बास बस्ने अन्य सुविधाका लागि भोतिक पुर्वाधारहरु विकास भइसकेका छैनन् ।

यदि तपाईले पाँच पोखरीसम्मकै मात्र यात्रा गरेर फर्कने योजना बनाउनु भयो भने १० देखि १२ दिनमा तपाईको पदयात्रा सकिनेछ । 

फोटो: बिक्रम सिंह


 

प्रतिक्रिया दिनुहोस