aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
होटल बन्द

३६० कर्मचारीलाई अवकास दिँदै होटल अन्नपूर्ण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
३६० कर्मचारीलाई अवकास दिँदै होटल अन्नपूर्ण

काठमाडौं । होटल डेला अन्नपूर्ण सञ्चालक समितिले तीन सय ६० जना कर्मचारीलाई अवकास दिने भएको छ । कोभिडका कारण होटल बन्द भएको र कर्मचारीलाई थेग्न नसकेपछि होटल अन्नपूर्ण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । सन् २०१९ पनि पर्यटन क्षेत्र त्यति राम्रो हुन नसकेको र २०२० कोडिभमै सकिएको र आगामी वर्ष २०२१ पनि होटल व्यवसाय राम्रो नहुने देखिएकाले होटल बन्द गरेको होटलकी कार्यकारी निर्देशक अध्यक्ष सिर्जना राणाले बताइन् । 

होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी राणाले भनिन्  ‘नयाँ होटल सञ्चालन गर्न सहज भएपनि हामीजस्ता पुराना होटल सञ्चालन गर्न साह्रै गाह्रो छ । ‘एक लाख रुपैयाँसम्म तलव खाने कर्मचारी हुुनुहुन्छ ।’ आय स्रोत नभएपछि कर्मचारीलाई धान्न सकिने अवस्था कुनै कोणबाट पनि देखिएन ।’ पछि हुँदै गएपछि कर्मचारीले पाउने त्यहि सेवा सुविधा पनि दिन नसकिएला भनेर हामीले बाध्य भएर यस्तो कदम उठाएका हौं ।’

त्यसैले कर्मचारीलाई राजिनामा दिन लगाएर उनीहरूले पाउने सेवा सुविधा दिएर विदाइ गर्न सके सोही रकमबाट जीविकोपार्जन गर्न सक्छन् भन्ने हाम्रो सोच हो, उनले थपिन् । होटलले दिने सेवा सुविधाबाट ठूला काम गर्न नसकेपनि साना तिना व्यापार व्यवसाय तथा कृषि व्यवसाय गर्न पुग्ने उनले बताइन् ।

काम हुन्छ भनेर अड्काएर राख्नुभन्दा अहिले नै अवकास दिएर उनीहरूलाई नयाँ काममा लाग्न उत्प्रेरणा दिन सके राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो । होटलबाट पाएका सेवा सुविधाले केही गर्न सक्छन् भन्ने विश्वासका साथ होटल सञ्चालक समितिले उनीहरूकै हितका लागि यस्तो निर्णय गरेको हो । 

कोभिड अगाडि होटल सञ्चालन गर्न कुनै आर्थिक संकट नपरेपनि १ वर्षको यो अवधिमा हामीलाई निकै अप्ठ्यारो परेको छ । नयाँ होटलहरूमा कर्मचारी पनि थोरै र तलवभत्ता पनि कम भएकाले सञ्चालन गर्न सकिने देखिए पनि हामीजस्ता पुराना होटलको खर्च धेरै छ । ठाम्न सक्ने अवस्था नै छैन । होटल सञ्चालन भएको ५५ वर्ष भएको छ ।

पुनः होटल सञ्चालनका विषयमा अहिले केही भन्न सक्ने अवस्था छैन । अन्योलता कै अवस्था छ । सधै यसरी नै होटल सञ्चालन गर्न सक्ने अवस्था पनि देखिएन । होटललाई रिनोभेट समेत गर्नुपर्ने देखिएको छ । 

आवश्यकता परे हामीले होटलको विकल्प पनि खोज्नुपर्ने हुन्छ  । होटल सञ्चालन गर्न धेरै ठूलो चुनौती छ । होटलनै सञ्चालन गर्ने या नयाँ कुनै विजनेशमा सम्पत्ति लगाउने यस विषयमा अहिले निर्णय हुन सकिरहेको छैन । यस विषयमा अध्ययन गर्दैछु,’ राणाले भनिन् ‘ अब सम्पत्तिको उचित व्यवस्थापन मिलाउने तयारीमा छु ।’  
 

प्रतिक्रिया दिनुहोस