
काठमाडौं । नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । ४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा सञ्चालनमा छ, ढल्केबरमा ४००/२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ, यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ,’ उनले भने–‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ ।’
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ । अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ । ढल्केबरमा २२०/१३२ केभी सबस्टेसन पनि संचालित छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिएका छन् । घिसिङले यो सबस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि वहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस