काठमाडौं । सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारेन्टाइनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ। यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ।
यूकेमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हाल नयाँ कोरोनाभाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।
नेपाल भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्। तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस