
काठमाडौं । केही दिन अघि ५५ वर्ष पुरानो ‘होटल डेला अन्नपूर्ण बन्द भयो । हायात रेजेन्सीले भोलि अंग्रेजी नयाँ वर्ष सन् २०२१ बाट कम्तीमा २ वर्ष र बढीमा ५ वर्षसम्म कर्मचारीलाई बेतलवी विदा दिँदैछ । होटल सोल्टी पनि सूचना नै जारी गरेर कम्तीका एक वर्षका लागि कर्मचारीलाई विदा दिने योजना बनाएको छ । मजदुरलाई पाँच वर्ष बेतलवी बिदामा राख्ने निर्णय हायात होटल व्यवस्थापनले गरेको छ ।
सोल्टीले आफ्नो क्षमताको करिब एक तिहाइभन्दा कम क्षमतामा होटल सञ्चालन गर्ने तयारी गरेको छ । २८३ कोठा रहेको सोल्टी होटलले अब एक सय कोठा मात्रै सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ ।
होटल हायातले पनि एक सय कोठामात्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । लकडाउन अगाडिनै चैत पहिलो साताबाट औपचारिक रूपमै बन्द गरेको हायात रिजेन्सी पछिल्लो समय खुले पनि पाहुना छैनन् । होटलका २ सय ८० कोठा खाली छन् । होटलमा पाहुना नै नआउने भएका कारण यसले पनि एक सय वटा मात्रै कोठा सञ्चालन गर्ने तयारी गरेको छ ।
३ सय वा सोभन्दा बढी कोठा भएका होटलहरूले एक सय कोठामात्र सञ्चालन गरेका छन् । कम क्षमतामा होटल सञ्चालन गर्न हायात र सोल्टी होटलले मंसिर पहिलो साता सूचना जारी गरेर कर्मचारीलाई जानकारी गराइसकेका छन् । यी होटलले सन् २०२१ देखि क्षमता घटनाउने जानकारी आफू सम्बध मजदुरलाई दिएका हुन् ।
होटल र्याडिसन पनि क्षमता घटाएर होटल सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ होटल मेरियट भने कोभिडयता बन्द नै भएको छैन । पाहुना नभएपनि होटल बन्द नगर्ने सोचमा सञ्चालक शशिकान्त अग्रवाल पुगेका छन् ।
यस्तो विषम परिस्थितिमा पुरानो होटलको तुलनामा नयाँ होटल सञ्चालन खर्च कम भएकोले होटलहरू सञ्चालन गर्ने हिम्मत सञ्चालकले गरेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताएकी छिन् । ‘नयाँ होटलमा कर्मचारी कम भएका करणले पनि सञ्चालन खर्च थेग्न पुरानोभन्दा अलि सहज छ,’ उनले भनिन् ‘पुराना होटल भने पूर्ण क्षमतमा सञ्चालन गर्न सकिने अवस्था छैन ।’ सोही कारणले पुराना स्थापिन होटलहरू कम क्षमतामा सञ्चालन गर्नुपर्ने वाध्यता सञ्चालकमा रहेको हो ।
पाँचतारे होटल सोल्टीले यो महामारीपछि ५५० कर्मचारीमध्ये करीब १५० जनालाई स्वेच्छिक अवकास दिइसकेको छ । होटल डेला अन्नपूर्णले आफ्ना सबै कर्मचारीलाई सेवा सुविधा लिन आउन आव्हान गर्ने तयारी गरिरहेको छ । होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल डेला अन्नपूर्णकी सञ्चालक राणा तत्काल होटल सञ्चालन गर्न सक्ने अवस्था नरहेकोले आफूले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकास दिन लागेको बताइन । उनले आफ्ना सम्पूर्ण कर्मचारीलाई आफूले पाउने सेवा सुविधा लिएर जान आग्रह गरेकी छिन् । होटल अन्नपूर्णमा ३ सय ६० जना कर्मचारी कार्यरत थिए ।
पहिलो चरण कोरोना महामारीको असर न्यूनीकरण नहुँदै दोस्रो चरणमा गएको र तत्कालै विदेशी पर्यटक आउने सम्भावना अत्यन्त कम रहेको हुँदा होटलहरूले थोरै कर्मचारी र कम कोठामा होटल सञ्चालन गर्ने योजना अघि सारेका हुन् ।
जनवरी २०२० देखिनै खस्किएको होटल व्यवसाय अहिलेसम्म पूर्ण क्षमतामा खुल्न सकेका छनन् र तत्काल खुल्न सक्ने अवस्था पनि देखिदैन । आम्दानी नभएका कारण होटल सञ्चालन गर्न गाह्रो भइरहेको होटल व्यवसायीहरूले बताउँदै आएका छन् ।
होटल संघ नेपाल (हान) र तीन वटा मजदुर संघ (अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच होटल बन्द रहेको अवस्थामा मजदुरलाई १० महीनाको न्यूनतम तलब दिने सहमति भएको थियो । सहमति अनुसार दुई तारेदेखि पाँचतारेसम्मका होटलमा कार्यरत मजदुरलाई चैत २०७६ देखि १६ पुस २०७७ सम्म न्यूनतम तलब दिनुपर्नेछ ।
गत २०७७ असार २८ मा भएको उक्त सहमति सकिनै लागेकोले पुनः नयाँ योजना बनाएर जान आवश्यक छलफल शुरू समय नजिकिदै जाँदा होटल सञ्चालकहरूले कर्मचारीलाई बढीमा ५ वर्षसम्म बेतलवी विदामा राख्ने निर्णय गरेका हुन् । कोभिडको महामारी अझै नसकिएको र अझै २/३ वर्षसम्म होटल पूर्ण रुपमा सञ्चालन गर्न नसकिने अवस्था देखिएका कारण यस्तो निर्णय गर्नुपरेको होटल सञ्चालकहरूको भनाइ छ ।
)
प्रतिक्रिया दिनुहोस