aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माथिल्लो तामाकोसीले पुसभित्रै उत्पादन गर्ने सम्भावना बढ्यो, अप्ठ्यारो सुरुङमा पाइप राखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
माथिल्लो तामाकोसीले पुसभित्रै उत्पादन गर्ने सम्भावना बढ्यो, अप्ठ्यारो सुरुङमा पाइप राखियो

 काठमाडौं ।   निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो । तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नुपर्ने छ । 

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने/नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’उनले भने- ‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका र्छौ, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६/७७ भित्रै निर्माण सम्पन्न हुने छ ।’ उनले क्रेनले ६ मिटर प्रतिमिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस