aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप

नुवाकोट । सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप नुवाकोट पनि ल्याइएको छ । पहिलो चरणमा दुई हजार ४०२ जनालाई उपलब्ध गराउने योजना बनाइएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञपित जारी गर्दै जिल्लाका पालिकालाई खोप सेवा उपलब्ध गराउने तालिकासमेत सार्वजनिक गरेको छ ।  यही माघ १४ देखि  १९ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिने र  स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा कोभिड–१९बाट मृत्यु भएकाहरुको दाहसंस्कारमा संलग्नलाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । 

अभियानका लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने बताइएका छ ।  घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानका लागि खोपलगायत आवश्यक सामग्री प्राप्त भइसकेको छ । 

स्वास्थ्य संस्थाबाट नियमित सेवा अवरुद्ध नहुने गरी पालिकानुसार दुई समूह बनाएर खोप लगाउने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट मंगलबारसम्म एक हजार १२६ संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार २४ जना निको भएको र एक जनाको ज्यान गएको छ । हाल जिल्लामा ९९ संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस