
काठमाडौं । अबको तीन महिनाभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ लागू हुने भएको छ । नेपाली बजारमा भित्र्ने अवैध मोबाइल फोन आयात र बिक्री वितरणलाई नियन्त्रण गर्न नेपाल दूर सञ्चार प्राधिकरण(एनटीए) ले यो सिष्टम लागू गर्ने भएको हो ।
मोबाइलको अवैध व्यापारलाई नियन्त्रण गर्न प्राधिकरण आतुर भएको एनटीएका अध्यक्ष पुरुर्षोत्तम खनालले बताए । ‘एमडीएमएस जडान गरी सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका सबै मोबाइल बन्द हुनेछन्,’ उनले भने ‘यो सिष्टम लागू गर्न प्राधिकरणले कार्यविधि बनाइ रहेको छ ।’ गत वर्ष पुसदेखि नै यो मोबाइमा यो सिष्टम लागू गर्ने भनिए पनि विविध कारण लागू हुन सकेको थिएन ।
नेपाल मोबाइल वितरक संघले बुधबार आयोजना गरेको कार्यक्रममा मोबाइल फोन इम्पोर्टर्स एसोसिएनका अध्यक्ष दिपक मलहोत्राले अहिले पनि नेपाली बजारमा ठूलोमात्रामा अवैध मोबाइलको कारोबार भइरहेको बताए । ‘ग्रे’ मोबाइल व्यापारलाई निरुत्साहित गर्न हामीले ‘होलोग्राम प्रयोग गरेर मोबाइल बिक्री गर्न लागेको समेत उनले जानकारी दिए । ‘यस्तो व्यापारले वैधानिक रुपमा भित्रिएका तथा वैधानिक रुपमा व्यापार गर्ने व्यवसायीलाई मर्काका पारेको छ,’ उनले भने ‘कर नतिरी ल्याएको मोबाइल र तिरेर ल्याएको मोबाइलको मूल्यमा फरक हुन्छ नै ।
कोभिडका कारण भएको बन्दाबन्दीको पहिलो तीन महिना व्यापार शुन्य भएपनि त्यसपछि मोबाइल, ल्यापटप तथा कम्प्युटर व्यापारमा केही सुधार भएको थियो । अब सबै नाका खुलेपछि फेरि अवैध रुपमा भित्रिएका मोबाइलको व्यापारले बजार लिनेछ । सरकारले भ्याट फिर्ता नदिने र ५ प्रतिशत अन्तःशुल्क लगाएको वर्ष मोबाइल इम्पोटरहरूको ब्यालेन्स सिटनै नेगेटिभमा गएको थियो ।’
अहिले सुधार आउनु तथा व्यापार बढ्नुमा मुख्य तीनवटा कारण देखिएको छ, उनले भने ‘ बन्दाबन्दीको कारणले चोरी पैठारीका फोन नआउनु हो भने अर्को विद्यालय तथा कलेजमा भएको अनलाइन क्लास र स्मार्ट फोनबाट लिन सक्ने सुविधाका कारण अहिले यसको बिक्री बढेको हो । अहिले फेरि बोर्डर खुलेको छ अब फेरि पुरानै नियतिमा हाम्रो व्यवसाय जाने हो कि भन्ने चिन्ता व्यापारीलाई परेको छ ।’
अहिले मोबाइल आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र साढे दुई प्रतिशत अन्तः शुल्क कर लाग्ने गरेको छन् । २०७५÷७६ को बजेटले मोबाइलमा फिर्ता हुँदै आएको ४० प्रतिशत भ्याटफिर्ता रोकियो र उल्टै ५ प्रतिशत अन्तःशुल्क लगाइएको थियो । पछि धेरै प्रयासपछि यो दर साढे दुई प्रतिशतमा झारिएको हो, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष समेत रहेका मलहोत्राले भने ‘ कुनै बेला नेपाल विश्वकै सस्तो मोबाइल बिक्री गर्ने देशमा पथ्र्यो ।
सरकारले ६० प्रतिशत भ्याट फिर्ता दिँदा नेपालीले सस्तो मूल्यमा मोबाइल प्रयोग गर्न पाएका थिए । त्यति बेला मोबाइल किन्दा आम उपभोक्ताले ५.२ प्रतिशतमात्र भ्याट तिरे पुग्ने थियो । यो छुटको व्यवस्था पछि ५० प्रतिशतमा झारियो । त्यसपछि ४० प्रतिशत दिँदै आएको भ्याट फिर्ता अहिले शुन्यमा झरेको छ ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, न्यूरोटका कर अधिकृत विनोद लामिछानेले राजस्वको दर बढी भएमा ‘ग्रे’ मार्केट बढ्ने बताए । नेपालमात्रै नभइ संसारभरिनै चोरीको मोबाइल बिक्री हुने उनको भनाइ थियो । मोबाइलको मात्र नइभ जुनसुकै व्यापारमा पनि चोरी पैठारीको सामान र व्यापारले असर गर्ने बताए ।
मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले नेपालमा २५ प्रतिशत मोबाइलको ‘ग्रे’ मार्केट रहेको बताए । ‘यस्तो व्यापारलाई रोक्न उनले जतिसक्दो छिटो प्रविधि ह्वाइट लिष्टिङ सिष्टम जति सक्दो छिटो लागू गर्नुपर्ने बताए । अवैध मोबाइल व्यापारलाई निरुत्साहित गर्न नियामक निकायदेखि सरोकारवाला सबै क्षेत्र लाग्नु पर्ने उनले बताए । ‘मोबाइल फोनको अवैध व्यापारलाई रोक्न मोबाइल इम्पोर्टर्स एसोसिएसन र वितरक संघ मिलेर होलोग्राम प्रयोग गरेर मोबाइल बिक्री गर्न लागेका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस