
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले स्मार्ट नेपाल अभियानको सुरु गरेका छन् । सरकारले घोषणा गरेअनुसार डिजिटल नेपाल निर्माण अभियानअन्तर्गत गुरुङले आफ्नै गृहजिल्ला दोलखामा स्मार्ट दोलखा निर्माण सुरु गरेका हुन् । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीलाई मन्त्री गुरुङले फाइबर लाइनबाट टेलिफोन गर्दै मन्त्री गुरुङले कार्यक्रमको सुरुवात गरेका हुन् ।
यो अभियान नेपाल टेलिकमसँगको सहकार्यमा प्रत्येक जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शैक्षिक संस्था र वडा कार्यालयमा इन्टरनेट तथा टेलिफोन सेवा विस्तार गर्ने योजना छ । नेपालका विभिन्न क्षेत्रमा हालसालै दूरसञ्चार प्राधिकरण र टेलिकमले विस्तार गरिरहेको फाइबरमार्फत सरल तरिकाले नागरिकलाई सेवा दिन इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । पुरानो प्रविधिको प्रयोगलाई कमी गर्दै टेलिकमले विस्तार गरिरहेको एउटै भाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजनसमेत हेर्न सकिने व्यवस्था छ ।
कार्यक्रममा मन्त्री गुरुङले डिजिटल नेपाल निर्माण गर्ने सरकारको परिकल्पनाअनुसार डिजिटल नेपाल निर्माण गर्ने परिकल्पना साकार पार्न विभिन्न चरणमा काम गरिरहेको बताए ।
सबै नागरिकलाई लाइन बसेर नभई अनलाइनबाट सेवा दिने उद्देश्यले सरकारले माघ २ गते नागरिक एप सार्वजनिक गरिसकेको र हाल सबै क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेट जडान गर्ने काम शुरु भएको मन्त्री गुरुङले बताए । इन्टरनेटका माध्यमबाट काम गर्दा नागरिकलाई सहज हुने काजगी प्रयोगमा कमी हुने र भ्रष्टचार न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास रहेको मन्त्री गुरुङले विश्वास व्यक्त गरे।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपालको सुगम र दुर्गम क्षेत्रमा बसोबास गर्ने सबै नागरिक महत्वपूर्ण रहेको र सुगम र दुर्गमको बीचको सञ्चारको दूरीलाई अन्त्य गरी नागरिकलाई इन्टरनेटका माध्यमबाट सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताए ।
सचिव बस्यालले यो अभियानमा पूर्वाधार निर्माणका लागि दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले सहयोग गरिरहेको जानकारी दिँदै डिजिटल नेपाल निर्माण अभियानअन्तर्गत ६२० किलोमिटरभन्दा बढी फाइबर बिछ्याइ सकेको र ६३१ पालिकामा फोरजी सेवा विस्तार भइसकेको उल्लेख गरे । बाँकी रहेका क्षेत्रमा समेत यो वर्षको अन्तसम्म सबै पालिकामा फोरजी सेवा विस्तार गरिने उनले बताए ।
नेपाल टेलिकमको आयोजनामा दोलखाबाट शुरु गरिएको स्मार्ट दोलखा निर्माण अभियानअन्तर्गत दोलखाको ७४ वटा वडा कार्यालय र शैक्षिक संस्था, स्वास्थ्य संस्थालाई स्मार्ट प्रविधिमा आधारित बनाइनेछ । यसका लागि काठमाडौंबाट मुडे हुँदै चरिकोट र खुरकोट हुँदै चरिकोटसम्म फाइबर लाइन जोडिसकेको जनाइएको छ । दोलखाको मुख्य बजार क्षेत्र जिरी सिंगटी मागादेउराली क्षेत्रमा फाइबर विस्तार भइरहेकाले फागुन अन्तिमसम्म दोलखामा काम सकिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुर्गम क्षेत्रमा यो सेवा विस्तार भएसँगै इन्टरनेटका माध्यमबाट सहज तवरले एक ठाउँमा भएको ज्ञान सीपलाई अन्य क्षेत्रमा सहजै पु¥याउन सहयोग पुग्ने बताए ।
फागुनभित्र जडान गरी सक्नेगरी काम शुरु गरिएको दोलखामा ४६८ वटा विद्यालयमा ४० हजार १४७ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा ७४ वटा वडा छन् ।
प्रतिक्रिया दिनुहोस