aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतको ‘भ्याक्सिन डिप्लेमेसी’ कति सफल कति असफल ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
भारतको ‘भ्याक्सिन डिप्लेमेसी’ कति सफल कति असफल ?

भारतले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड १७ वटा देशमा पुगिसकेको छ । आफ्ना छिमेकी मुलुकहरू नेपाल, बंगालादेश, भुटानबाहेक उसको खोप पश्चिम एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत पुर्‍याइसकिएको छ ।   

भारत सरकारले यसरी भ्याक्सिन मैत्री भन्दै विभिन्न मुलुकहरूलाई निशुल्करुपमा खोप उपलब्ध गराएर अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो प्रभाव र बलियो उपस्थिति जनाउने नीति लिएको देखिन्छ ।  

त्यसो त यसभित्र लुकेको खोप बिक्री गर्ने उद्देश्य पनि यहिबेला नखुलेको चाहिँ होइन । नेपालकै सन्दर्भमा भन्ने हो भने उदारता देखाउँदै नेपाललाई सुरुमा १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएको भारतकै उत्पादक कम्पनीले भने थप डोजका लागि सुरुमै पुरै पैसा माग गरेको छ । 

पहिलो चरणको खोप लगाइसकेपछि दोस्रो चरणका लागि आवश्यक पर्ने खोप किन्नै पर्ने बाध्यतामा नेपाल जस्तै अरू १७ वटा मुलुक पनि पर्ने निश्चित छ । सँगसँगै के पनि स्पष्ट छ भने भारतले नेपाललाई झैँ सबै मुलुकलाई खोप चाहिएमा अनिवार्य अग्रिम भुक्तानीको सर्त बढाउने नै छ । 

त्यति मात्र होइन उसले तोकेकै मूल्यमा खोप किन्न सबै मुलुकहरू बाध्य हुनेछन् । नेपालले त झन् आफ्नो खरिद नियमावली नै संशोधन गरेर भुक्तानी पठाइसकेको छ । यसरी पहिले निःशुल्क दिने र पछि आफ्ना सबै सर्तहरू मान्न बाध्य पार्ने भारतीय रणनीतिले उसको निःशुल्क खोपको माध्यमबाट विस्तार गर्न खोजेको कूटनीति भने ओझेलमा परेको छ । 

भारतले नेपाललाई भूकम्प गएको बेला गरेको सहयोगलाई नेपालीहरूले जसरी खुल्ला दिलले सराहना गरेका थिए त्यसरी यस पटक निःशुल्क खोप पाउँदा गरेनन् । जबकि अहिले पनि नेपालीहरू विश्वका ती भाग्यमानी मध्ये परेका छन् जसले चरणबद्धरुपमा खोप लगाउने सुविधा पाइरहेका छन् । किनकि आजकै मितिमा समेत विश्वका १३० भन्दा बढी देशहरूमा एक डोजसमेत खोप पुगेको छैन । 

आफ्नो नजिकको छिमेकीबाट १० लाख डोज खोप प्राथमिकताका साथ पाउँदा नेपाली उत्साहित बन्नुपर्ने हो । तर, बनेनन् । किन ? यसको जवाफ खोज्न भारतले नेपालप्रति अपनाएको रवैया भूकम्प पछिको अप्ठ्यारो बेला उसले थपेको सास्ती अझै पनि नेपालीहरूले बिर्सन सकेका छैनन । त्यति मात्र होइन अधिकांश नेपालीहरूलाई हाल नेपालले भोगिरहेको राजनीतिक संकटमा पनि कहीँ कतै भारतको हात छ भन्ने लागिरहेका छ । 

यस्तोमा भारतको भ्याक्सिन डिप्लोमेसीले खासै काम गरेको देखिँदैन । नेपालमा मात्रै होइन भुटान र बंगलादेशमासमेत भारतले निःशुल्क बाँडेको खोपले त्यहाँ उसको जयजयकार गाउने अवस्था सिर्जना भएको छैन । किनकि भारतको ठुलदाइ प्रवृत्ति यो क्षेत्रमा यति बदनाम छ की दक्षिण एसियाका कुनै पनि नागरिकहरू भारतको खुल्ला दिलले प्रशंसा गर्न सक्दैनन् । 

भलै पश्चिम एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुक अनि नागरिकहरूले भारत कति निकृष्ट ढंगले आफ्नो स्वार्थ सिद्धमा लाग्छ भन्ने कुरा नबुझेका होलान् । तर, दक्षिण एसिया भने भारतको हेपाहा प्रवृत्तिबारे भुक्तभोगी छन् । उनीहरूले भारतको दूधका विष घोलेर खुवाउने चरित्रलाई रामारी बुझेका कारण पनि भारतको भ्याक्सिन डिप्लोमेसी प्रभावकारी बन्न सकेन् । बन्न सक्ने पनि देखिएन । 

 

प्रतिक्रिया दिनुहोस