
खाँदबारी । अरुण तेस्रो जलविद्युत् आयोजना निरीक्षणका लागि नेपाल सरकारका ५ जना सचिव संखुवासभा पुगेका छन् । ९०० मेगावाट क्षमताको सो बहुपतिक्षित आयोजनाको निरीक्षणमा बुधबार गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे आयोजनास्थलमा पुगेका हुन् । उनीहरुसँग लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि त्यहाँ गएका थिए ।
आयोजनास्थलमा पुगेर ती अधिकारीहरुले बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको जनाइएको छ।
यो आयोजना निर्माणका लागि भारतीय कम्पनी सतलजलाई केही समय अघि मात्रै जिम्मेवारी दिइएको थियो । उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए।
सो भ्रमणका क्रममा सचिवहरुलाई अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले विद्युत्गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराएका थिए । धिमानले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।
गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्न नहुने बताए । अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि उनले जानकारी दिए। उनले स्थानीय स्तरमा केही समस्या भए गाउँपालिकामार्फत् लगानी बोर्डमा आउन आग्रह समेत गरे ।
सो परियोजना निर्माणका लागि आवश्यक सडक निर्माण कार्य अहिले सकिएको छ । चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडकको निर्माण एसजेभीएन कम्पनीले सकेको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण पनि सम्पन्न भएको छ ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युतगृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस