aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास

कास्की । पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ ।

समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गर्नुभयो । पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो । महानगरले पर्वतीय खेल मैदानलाई महानगर गौरवको योजनाका रूपमा लिएको छ ।

मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि रु १६ करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिनुभयो । फुटबल मैदान ९इलाभेन साइड०, बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम)ं, दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए । उनले भने, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि खेल मैदानले सघाउने छ । सजिलो रूपमा पहुँच पुग्न सक्ने यस ठाउँमा खेल मैदानको निर्माणमा सहयोग गर्र्नु सबै पोखरेलीको दायित्व हो ।”

मैदानबाट माछापुछ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरबस्ती तथा हरियाली जङ्गलको सुन्दरताले यस क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोसेढुङ्गा सावित हुने महानगरले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राकृतिकरूपमा सुन्दरस्थलमा खेल पूर्वाधार निर्माण हुँदा यससँगैका छिमेकी वडामा समेत विकासको ढोका खुल्ने उनको भनाइ थियो ।

खेल मैदान निर्माण सम्पन्न गरेर राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण गराउने आफूहरुको योजना रहेको सोही वडाका वडाध्यक्ष सीम गुरुङले बताए । उनले भने, “हिमालको काखमा ग्रामीण परिवेशमा जैविक परिकारका साथमा फुटबल प्रशिक्षण गराउने योजना छ । यसबाट नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा विश्वस्त छौैँ ।”

महानगर योजना महाशाखा प्रमुख इञ्जिनीयर शारदामोहन काफ्लले बहुवर्षीय योजनाका रूपमा खेल मैदान निर्माण अघि बढाइने बताउँदै बर्सेनि बजेट विनियोजन गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस