aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

फैलँदो कोरोना भाइरस, बिर्सिँदो स्वास्थ्य मापदण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
फैलँदो कोरोना भाइरस, बिर्सिँदो स्वास्थ्य मापदण्ड

काठमाडौं । कोरोना भाइरसको संक्रमणको ग्राफ दिन प्रति दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

कोरोना संक्रमण बढिसके पनि स्वास्थ्यका मापदण्डहरूको पालनामा कडाइ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख २ गते कोरोना सङ्क्रमणबाट अति प्रभावित क्षेत्र १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको छ । एकातिर संक्रमण तीव्र गतिमा फैलिने, अर्कातिर विद्यालय बन्द गर्ने सिफारिस अलपत्र पर्ने अवस्था आएको छ ।   

पछिल्लो समय बालबालिकामा संक्रमण बढेकाले विद्यालय बन्द नगरे कोरोना महामारी नियन्त्रण बाहिर जाने स्थिति आएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् । ‘यो पटक पहिलेभन्दा काम गर्न गाह्रो छ किनकि हाम्रो सिफारिस र निर्देशन पालना भएको छैन’ उनले भनेका छन्, ‘नयाँ भेरियन्ट पहिले भन्दा छिटो फैलने गरेको छ ।’ 

आम मानिसहरुले पहिलो काम जनस्वास्थ्यका मापदण्डका पालना गर्नु पर्ने हुन्छ जनचेतनामा मुख्य अभियान नै चाल्नु पर्ने साथै सबैले आफू आफूमा सजक भए कोरोना सङ्क्रमणबाट बच्न सकिने डा. अधिकारीको ठम्याई छ । उनी भन्छन्, ‘हामी फेरि पनि महामारीको जोखिममा छौँ, अब पनि जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने र भिडभाड गर्ने हो भने हाम्रो स्वास्थ्य संरचनाले धान्न नै गाह्र्रो हुने सहायक प्रवक्ता अधिकारी बताउँछन् । 

यता, काठमाडौं महानगरले कोभिड–१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन आग्रह गरेको छ ।  

त्यस्तै, शिक्षा मन्त्रालयले पनि शुक्रवार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई आलो पालो गरेर पठन पाठन गर्न भनेको छ । मन्त्रालयले सबै विद्यालयमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्ने भनिएको छ । 

हामी सङ्क्रमणबाट जोगिनको लागि शिक्षक र विद्यार्थी कोरोना सङ्क्रमित भएको विद्यालयलाई वैकल्पिक माध्यमबाट पढाउन आग्रह गरिरहेको काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । यति ठुलो महामारीको संक्रमण नै आए पनि अझै आम मान्छे सचेत नभएको उनी बताउँछन् । 

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नयाँ भेरियन्टको संक्रमण सँगसँगै मृत्युदर पनि पहिलेको भन्दा बढी भएको उनको भनाइ छ । संक्रमणको दोस्रो लहरमा कोरोना लागेर कोही बिरामी भएमा अघिल्लो चरणमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर र संक्रमणदर बढी देखिने सम्भावना रहेको उनी बताउँछन् ।  

उनका अनुसार संक्रमणको जोखिम भएका ठुला सहरमा विद्यालय बन्द गर्नु उपयुक्त हुन्छ भने संक्रमण नदेखिएको स्थान र सानो सहरमा जनस्वास्थ्यको मापदण्ड पालना गरेर स्कुल सञ्चालन गरे हुन्छ । विद्यार्थीलाई संक्रमणको जोखिमबाट बचाउन विभिन्न किसिमका कदमहरू चाल्नु पर्नेछन् ।  

पहिलो चरणको महामारीमा आवश्यकता भन्दा बढी यान्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै थरी यान्टिबायोटिकले नमर्ने खालका ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा फैलिएको  छ । 

यसले गर्दा पनि कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध यान्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको सुवेदी बताउँछन् । अहिले वायु प्रदूषणको कारण श्वासप्रश्वास बिरामी अस्पताल जाने क्रम बढेकाले संक्रमणको जोखिम झन् बढेको छ । पहिले भन्दा बढी संवेदनशील हुन जरुरी रहेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस