
काठमाडौं । सरकार र जनताको समेत प्रत्यक्ष लगानी रहेको होटल हायातमा हुँदै आएको अनियमितता एकपछि अर्को गर्दै पर्दाफास हुन थालेको छ ।
यसैक्रममा हायात होटलमा कार्यरत प्रमुख वित्तीय अधिकृत रानी बंगले गर्दै आएको भ्रष्टाचारजन्य कार्यबारे सोही होटलमा कार्यरत कर्मचारीहरुले बाहिर ल्याएका छन् । होटलका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिअनुसार सरकारको समेत लगानी रहेको तारागाउँ रिजेन्सी होटल्स् कम्पनीमा रानी बंगले सात वर्षदेखि प्रमुख वित्तीय अधिकृतका रुपमा कार्यरत छिन् ।
उनी नियुक्त भएपछि नाफामा गइेरहेको कम्पनीलाई घाटामा देखाउन थालिएको हो । कम्पनी घाटामा देखाई सोबाट प्राप्त भएको रकम आफ्नो व्यक्तिगत रूपमा गोप्य स्रोतमार्फत लगानी गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार सात वर्षको अवधिमा ३५ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेकी छिन् ।
उनले २०७५ सालमा मात्र होटललाई चाहिने विभिन्न खाद्यान्न, तरकारी फलफूल, मासु, पेयपदार्थलगायतका सामान आपूर्ति गर्न करिब ५२ वटा फर्मसँग डिल गरी वार्षिक ७५ करोडको १९ प्रतिशत हुने कमिसन ७ करोड ५० लाख कमिसन खाएको उनीमाथि आरोप छ ।
श्रीमान अरूण बंगमार्फत सामान किन्दा बजार मूल्यभन्दा बढीमा किन्न लगाउने र कमिसन लिने कार्य गर्दै आएको समेत होटल कर्मचारीले आरोप लगाएका छन् । बंगले कम्पनी सञ्चालक समितिमा रहेको पहुँचको आडमा जुनसुकै प्रकारको निर्णय गराउन खप्पिस भई वास्तविक मुनाफालाई कम गराई केही मात्र मुनाफा देखाई ब्यालेन्स सिट पनि २ वटा तयार नक्कली विल बनाई खर्च लेखी आफंै गर्ने गरेको होटलका अभिलेखहरु चेकजाँच गर्दा थाहा हुने कर्मचारीको दाबी छ ।
महिनाको तलब ५ लाख रुपैयाँ लिने गरे पनि १ लाख ७५ हजार रुपैयाँ मात्र देखाउने गरेकाले उनले आयकर छलीसमेत गरेको आरोप लगाइएको छ । कानुनअनुसार कम्पनीले मुनाफा गरेको मध्ये १० प्रतिशत रकम स्थानीय सामाजिक कामको लागि खर्च गर्नुपर्ने रकम व्यक्तिगत रूपमा खर्च गरेको र हालसम्म उक्त रकम करिब ५ करोडभन्दा बढी रहेको कम्पनीका कर्मचारीको दाबी छ ।
वासिम राजा भन्ने भारतीय नागरिकसँग मिलेर १० करोड रुपैयाँ होटलमा अवैध रूपमा लगानी, १५ करोड रूपियाँ विभिन्न सहकारीमा लगानी गर्नुका साथै काठमाडौंमा ४ करोडको जग्गा खरिद गरेको समेत बताइएको छ । कम्पनमिा गरिने आर्थिक अपराधलाई ढाकछोप गर्ने उद्देश्यले कम्पनी ऐन २०६३ विपरित विगत १५ वर्षदेखि वि.के अग्रवालबाट लेखा परीक्षण गराउँदै आएको छ । यद्यपि, संस्थाको नाम फरक भए पनि लेखापरीक्षण गर्ने व्यक्ति एउटा रहेको छ । सँगसगै गैरकानुनी कार्य को ढाकछोप गर्ने उद्देश्यले पूर्वप्रहरी अधिकृत र सत्ताधारी दल निकट नेतालाई निर्देशक र सल्लाहकार नियुक्त सेटिङ मिलाइँदै आएको छ ।
नेपाली कर्मचारीप्रति सदैव अनुदार तथा दुव्र्यवहार गर्ने रानी बंगले श्रमिक कर्मचारीको लागि श्रम ऐन २०७४ अनुसार कम्पनीले दिनुपर्ने रकम विपरीत सम्बन्धित कर्मचारीको तलबबाट कट्टा गर्ने गरेको मजदूरको आरोप छ । यसबारेमा उनीसँग सम्पर्क गर्न पटक–पटक प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस