aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

लकडाउनमा होटल व्यवसायीको चिन्ता : अब कसरी टिक्ने होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
लकडाउनमा होटल व्यवसायीको चिन्ता : अब कसरी टिक्ने होला ?

काठमाडौं । होटल व्यवसायीहरू लकडाउन र महामारीको पिडाबाट तङ्ग्रिन नपाउँदै फेरी कोरोनाको दोस्रो कहर खेप्न बाध्य भएका छन् । सरकारले वैशाख १६ गतेदेखि लकडाउनको घोषणा गरेपछि खास गरी नेपालमा रहेका होटल तथा रेस्टुरेन्टमा भने त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। यस्तो चिन्ताका बिच होटल व्यवसायीले भने सरकारसँग यो व्यवसाय टिकाउन विशेष पहलकदमीको लागि अनुरोध गरेका छन्। 

होटल व्यवसायीहरूलाई सहुलियत कर्जाको व्यवस्था मिलाएर सरकारले बचाउनु पर्‍यो।, होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना रानाले बताइन्। उनले उद्योग सरह होटलले पनि सेवा सुविधा पाउनु पर्ने, सरकारले करमा छुट दिनुपर्ने बताइन्।

होटल सङ्घका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले पनि कोरोनाको कारण उत्पन्न समस्याले पारेको सकसबारे टिप्पणी गरे। उनले भने, 'बाहिरी पयर्टकहरु कोरोना माहामारीका कारण भित्रिएका छैनन्। अहिले आन्तरिक पर्यटक र कर्पोरेट क्षेत्रले नै होटल व्यावसायीहरुलाई धानिरहेका थिए तर, कोरोनाको दोस्रो कहरमा पनि फेरि लकडाउन निषेधाज्ञा जारी भएको छ। यसले हामीलाई उठ्नै नसक्ने गरी थला पार्ने देखिन्छ।'

अहिले मानिसहरू घुम्ने वातावरण छैन। त्रासपूर्ण अवस्था सिर्जना भइरहेको छ । यो अवस्थामा सरकारले कुनै दिन त अवश्य पर्यटक आउलान्, पर्यटन व्यवसाय राम्रो होला भनेर सहुलियत नदिने हो भने भोलिका दिनमा पर्यटन व्यवसाय धराशायी हुने चिन्ता श्रेष्ठले व्यक्त गरे । सरकारले यो व्यवसायलाई बचाइ राख्न आवश्यक कदम तत्कालै चाल्नुपर्ने देखिन्छ ।

अहिले व्यावसायि त्यहाँ कार्यरत जनशक्ति पाल्न पनि नसक्ने अवस्थामा पुगेका छन्। होटल व्यावसायीका अन्य खर्च पूर्ति गर्न नै धौ धौ भइरहेको बेला सरकार मूकदर्शक बनिरहेकोमा उनले दुखेसो पोखे। कोरोनाको यस्तै अवस्था रहने र आउने दिनमा के हुने भन्ने जानकारी नै नहुने हो भने पर्यटन व्यवसायीले आर्थिक रूपमा एकदमै भयावह परिस्थितिको सामना गर्नुपर्ने देखिएको श्रेष्ठले बताए ।

झन्झटिलो प्रक्रिया भएको कारणले होटल व्यावसायीहरुले पुनरकर्जा लिन नसकेको हुँदा त्यसलाई सहज बनाउनु पर्ने व्यवशायीले औँल्याएका छन्। त्यति चासो नदेखाएको कारणले लागु नगरिरहेको उनले बताए । पुनरकर्जामा ब्याज कम गरेर भए पनि होटल व्यवसायीलाई टिकाउने नीति बनाउन सरकारले ध्यान दिनु पर्ने देखिएको छ ।

नेपालमा तारे होटल मात्र करिब १ सय ४० छन् भने अन्य साना ठुला गरी लगभग ८० हजार होटल सञ्चालनमा रहेको होटल सङ्घको दाबी छ। होटल व्यवसाय समेत एक अभिन्न अङ्ग रहेको पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान गर्न सक्छ ।

पर्यटनले तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ । भनिन्छ, नेपालमा एक जना विदेशी पर्यटक आउँदा नौ जनाको लागी रोजगारी सिर्जना हुन्छ । तर, समस्या के देखिंदैछ भने जो पर्यटकका रूपमा यहाँ आउँथे उनीहरू नै बेरोजगार हुने अवस्था छ । 

प्रतिक्रिया दिनुहोस