aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
यसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालमा आक्रान्त मच्याइरहेको छ । कोरोना संक्रमितको संख्या संगै मृतकको संख्या पनि दिनानुदिन बढीरहेको छ । यस्तो महामारीमा रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न सकिन्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न सकिन्छ । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात रहेका छन् । 

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ पनि निर्माण गरेको छ । उक्त प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् । 

महामारीको समयमा सङ्क्रमित मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन गर्न योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिन्छ । 

“क्वारेन्टिन तथा आइसोलेनमा रहँदा मानिसहरु मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर)झनै घट्दै जाने चिकित्सकहरु बताउँछन् । त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्साबाट उपचार गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ, साथमा वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्ने खालका औषधिको प्रयोग गर्नु वाञ्छनीय हुन्छ । 

मन्डुकपणि, ब्राम्मी, शङ्खपुष्पी, जोतिषमति, बोझो, जटामासी, अश्वगन्धा आदि औषधि प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिन्छ । “भाइरससँगै पूरै लड्न सक्ने शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधिको साथमा प्राङ्गारिक र सुपाक्ष्य पौष्टिक खाना खानुपर्छ । 

जङ्कफुड भन्दा प्राकृतिकरुपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यावनप्राश खान सकिन्छ । त्यस्तै, भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्वेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ ।

क्वारेन्टिन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न सकिन्छ । प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडाशन, भुजाङशन, तडाशन, चतुराङ दण्डाशन, आधोमुख श्वानाशनलगायत योगासन गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस