aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपालमा ‘भारतीय डबल म्यूटेन्ट’को कोरोना संक्रमण फैलिएको पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
नेपालमा ‘भारतीय डबल म्यूटेन्ट’को कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं । नेपालमा ‘भारतीय डबल म्यूटेन्ट’को कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको दाबी गरेको छ ।

मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट (बी.१.६१७.२) भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार पनि नेपालमा हाल फैलिरहेकोमध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट हो । ‘हामीले आन्तरिक रुपमा अध्ययन गर्दा अधिकांश रुपमा भारतीय डबल म्यूटेन्ट नै हाल व्यापक रुपमा फैलिएको पाएका छौं,’ नाम उल्लेख नगर्ने सर्तमा विश्व स्वास्थ्य संगठनस्थित स्रोतले भन्यो, ‘अहिले मन्त्रालयले गराएको जीन सिक्वेन्सिङले त्यसैलाई पुष्टि गरेको छ ।’

प्रतिक्रिया दिनुहोस