aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण

भैरहवा । लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो ।

क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर परीक्षण बिहीबारबाट सुरु भएको छ । उनले भने, ‘अघिल्लो वर्ष पनि हामीले क्लबमा आबद्ध पत्रकार साथीहरुको निःशुल्क परीक्षण गरेका थियौं, योपल्ट पनि निःशुल्क गरेका छौं ।’ गत वर्ष सिद्धार्थ लेडी जेसिजको सहयोगमा पत्रकारहरुको पीसीआर जाँच भएको थियो ।

क्लबमा भैरहवा, धकधई, मर्चवार र लुम्बिनी क्षेत्रका पत्रकारहरु आबद्ध छन् । ‘सधैं नागरिकलाई सुसूचित गराउनका लागि समाचार संकलनमा खट्ने पत्रकारहरु जोखिममा हुनुहुन्छ, यसलै हामीले नेशनल प्याथ ल्याबसँग सहकार्य गरी पीसीआर परीक्षण सुरु गरेका हौं’, अध्यक्ष केसीले भने, ‘यसले पत्रकार साथीहरुलाई आफ्ुनो स्वास्थ्यबारे जानकारी हुने र फिल्डमा खट्न थप हौसला मिल्ने हाम्रो अपेक्षा छ ।’

क्लबमा आबद्ध पत्रकारहरुले पीसीआर जाँच गर्न चाहेमा भैरहवास्थित सिद्धार्थ बसपार्कमा रहेको नेशनल प्याथ ल्याबको कार्यालयमा गएर निःशुल्क जाँच गर्नसक्ने कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए । उनले भने, ‘हाम्रो सानो आग्रहमा नेशनलले सहकार्य गरेको छ, यसले फ्रन्टलाइनमा खट्ने हामी पत्रकारहरुलाई ठूलो सहयोग पुगेको छ ।’

नेशनल प्याथ ल्याबका संचालक रुद्र कार्कीले फ्रन्टलाइनमा रहेर सधै खट्ने पत्रकारहरुलाई सामाजिक उत्तरदात्वि अन्तर्गत प्रेस क्लबको अनुरोधलाई स्वीकार गर्दै निःशुल्क पीसीआर परीक्षण गरिएको बताए ।

कार्कीले भने, ‘नागरिकलाई सधै सही सूचना दिन जस्तोसुकै कठिन अवस्थामा पनि पत्रकार साथीहरु अग्रस्थानमा रहेर काम गर्नुहुन्छ । अहिले महामारीका कारण उहाँहरु जोखिममा भएर पनि काम गर्दै आउनुभएको छ । त्यसलै हामीले निःशुल्क परीक्षण गर्न सहयोग गरेका हौं ।’

नेशनल प्याथ ल्याबका भैरहवा इन्चार्ज मनोज कुमार प्रजापतीका अनुसार अहिले दैनिकरुपमा यहाँ १५० जनाको हाराहारीमा पीसीआर जाँचका लागि स्वाव दिन आउने गरेका छन् । ल्याबले अशक्त, विरामी र होम आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित ठाउँमै गएर स्वाव संकलन पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस