
तनहुँ । तनहुँको व्यास नगरपालिकाले गत जेठ २ र ३ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठायो । कोरोना सङ्क्रमण बढेपछि नगरपालिकाले पिसिआरको दायरा बढाउँदै स्वाब सङ्कलन गरी परीक्षणका लागि पठायो ।
स्वाब पठाएको एक हप्ता बित्दा समेत प्रदेशले रिपोर्ट पठाएको छैन । रिपोर्ट आउनै ढिला भएपछि कोरोना जोखिम झन् बढेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका–१० का एक व्यक्तिले स्वाब दिएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा मानसिक तनाव भएको बताए ।
नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिपोर्ट ढिलाई भएकोबारे प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग जानकारी माग गरिएको बताए । “पिसिआर रिपोर्ट आउन ढिलाई भएकाले समस्या भएको छ, के कारणले ढिलाई भएको हो जानकारी मागेका छौ”, न्यौपानेले भने ।
नगरपालिकामा हालसम्म ६ सय ५९ जनाको पिसिआर स्वाब परीक्षण गरिएकामा तीन सय ५७ जना सङ्क्रमित भई एक सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसमध्ये दुई सय २४ जना उपचारको क्रममा छन् भने ११ जनाको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने प्रदेशभरबाट स्वाब थुप्रिएकाले रिपोर्टमा ढिलाई भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट पठाइएका तीन सय ५८ जनाको रिपोर्ट आउन बाँकी छ । व्यास नगरपालिकाको एक सय ७९, भिमाद नगरपालिकाको ७६, ऋषिङ गाउँपालिकाको १६, देवघाट गाउँपालिकाको २७, बन्दीपुर गाउँपालिकाको ३१ र आँबुखैरेनी गाउँपालिकाको २९ जनाको रिपोर्ट आएको छैन ।
वैशाख १ गतेदेखि यता तनहुँमा एक हजार एक सय ७३ जनालाई कोरोना सङ्क्रमण भएकामा दुई सय २६ जना निको भई हाल ९ सय १६ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । जिल्लामा वैशाख १ गतेदेखि ३१ जनाको मृत्यु भएको छ ।
व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि सरकारले रु २५ लाख बजेट विनियोजन गरेको छ । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा हप्तादिनसम्म पनि रिपोर्ट नआएपछि नगरपालिका आफैले पिसिआर परीक्षण गर्नका लागि प्रयोगशाला निर्माणको तयारी गरेको छ ।
सांसद कृष्णकुमार श्रेष्ठको पहलमा अर्थमन्त्रालयले सोमबार प्रयोगशालाको लागि उक्त रकम विनियोजन गरेको हो । केही दिनअगाडि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा श्रेष्ठले काठमाडौ फर्किएपछि प्रयोगशाला स्थापनाका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। पिसिआर परीक्षणका लागि नगरपालिकाले व्यास–१० दुम्सीमा पिसिआर प्रयोगशाला स्थापनाको तयारी गरेको छ । नगरपालिकाले प्रयोगशालाका लागि सहयोग गर्न सबैसँग अनुरोध समेत गरेको छ ।
प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रयोगशाला निर्माणका लागि जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त बैठकमा सहभागी जनप्रतिनिधिले त्यस प्रस्तावमा सहमति जनाएको र अन्य सबै जनप्रतिनिधिलाई पनि अनुरोध गरिने नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाले प्रयोगशाला निर्माणमा सहयोग गर्न शिक्षक, कर्मचारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायतलाई अनुरोध गरेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए ।
नगरपालिकाले पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न आव्हान गरेसँगै जनस्तरबाट सहयोग जुट्न शुरु भएको छ । व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले व्यास नगरपालिकालाई रु ५० हजार पाँच हस्तान्तरण गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस