aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

९६ वर्षीय वृद्धाले जितिन कोरोना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
९६ वर्षीय वृद्धाले जितिन कोरोना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छिन । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको हुनुभएको हो । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उहाँलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा  सन्तोषप्रसाद बोहराले जानकारी दिए । ‘‘उनलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याएका थिए, अस्पतालमा ल्याउँदा उनमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उनलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भने । 

अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताए । ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने भइन, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भने । 

कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाई गर्नुभएको थियो । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु सात हजार नगद समेत सहयोग हस्तान्तरण गरेका थिए । 

यसैबीच कोरोना सङ्क्रमणको कारण पोखरासम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगङ्गाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराउनुभएका पिप्ले निवासी ५३ वर्षिय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्कनुभएको छ । उनको स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप जाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको थियो । गण्डकीमा आइसियू कक्षमा समेत राम्रो उपचार नभएपछि उनका आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालको आइसोलेसनमा राखेर उपचार गराउने गरी फर्काएका थिए । 

कोभिड अस्पतालमै उपचार गरी निको भएपछि शाहीसमेत आइतबार घर फर्कनुभएको छ । ‘‘ठूला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन, बरु यहीँकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिएँ, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्’’, शाहीले भने ।

रघुगङ्गाको कोभिड अस्पतालमा बिरामी र कुरुवाहरुलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाइजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाइमा स्थानीय युवाहरुले स्वयमसेवक रुपमा परिचालन भएर सहयोगदातामार्फत सहयोग जुटाएर बिहानदेखि बेलुकीसम्म नै भर्ना भएका बिरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए । 

यसैबीच कोरोना जितेर घर फर्कनुभएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि रु २१ हजार ५०५ र अस्पतालका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि समेत रु २१ हजार ५०५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । रघुगङ्गाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरिसकिएको छ । गत वैशाख २१ गतेबाट रघुगङ्गाले कोभिड अस्पतालबाट सेवा सञ्चालन गरेको थियो । 

अस्पतालमा आएका अधिकांश अक्सिजन लगाएर उपचार गराउनुपर्ने बिरामीहरु निको भएर घर फिर्ता भएका छन् । गाउँपालिकाले दुई सवारी साधनमार्फत बिरामीलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस