
अहिले कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन् । भ्याक्सिन लगाएपछि ज्वरो आउने, शरीरमा एक प्रकारको असजिलो महसुस हुने धेरैले बताएका छन् । कतिलाई भने केहिपनि पनि फरक पर्दैन । तर भ्याक्सिनको असरको विषयमा अहिले टिकटक लगायत धेरै सामाजिक संजालमा चर्चा छ- कोरोना विरुद्धको खोप लगाएपछि मानिसको शरीर चुम्बक बन्छ।
भारतको नासिकका एक व्यक्तिले धेरैलाई चकित पार्ने यस्तो दाबी गरेपछि बीबीसीले यसबारेको एउटा रिपोर्ट नै प्रकाशित गरेको छ। अरविन्द सुनार नाम गरेका ती व्यक्तिका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बकले झैँ काम गरिरहेको छ ।
तर, चिकित्सक र यस सम्बन्धी जानकारले भने खोपका कारण यस्तो हुन नसक्ने बताएका छन् । सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँसिएको देखिएको छ। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै यसको नक्कल गर्दै धेरैले टिकट बनाउन थालेका छन् ।
सो भिडियोमा उनी भन्छन्, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । कुराकानीकै बिच उनले एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँसिन थाल्छन् भन्ने भिडियो हेरेको सुनाए। के त्यस्तो होला त भनेर हेर्दा त मेरो पनि शरीर त्यस्तै भइरहेको थियो ।’
उनले चार पाँच दिन अघि एक निजी अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन । तर, एकाएक फलाम टाँसिने गरेको थाहा पाएपछि भने उनले भिडियो बनाएका हुन्।
यस्तो छ, विज्ञको कुरा
अरविन्द सोनारको १० वर्ष अघि उनको बाइपास शल्यक्रिया भएको थियो । दुई वर्षदेखि उनको मधुमेहको उपचार चलिरहेको छ । उनले कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज मार्च ९ मा लिएका थिए र दोस्रो डोज जून २ मा लिए।
जब अरविन्द सोनाको शरीरमा फलाम र स्टिलका चिज टाँसिन थाले तब उनले आफ्नो डाक्टरलाई यसबारे बताए । सोनारको दाबी कति वास्तविक हुनसक्छ, यो बुझ्नका लागि बीबीसी मराठीले अन्धश्रद्धा निर्मूलन समितिका डाक्टर हामिद दाभोलकरसँग कुराकानी गरेका थिए ।
डाक्टर दाभोलकरले भने, ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँसिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ । यदि छाला ओसिलो छ र टाँस्सिनले स्थानमा भ्याक्युम क्याभिटी बनेको खण्डमा यो सम्भव छ । तर यसलाई खोपसँग जोड्नु सही होइन । हामीसँग काम गर्ने थुप्रै मानिसहरूले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिसकेका छन् । ’
जेजे मेडिकल कलेजका डीन डा. तात्यारावे लहानेले पनि सोनारको दाबी खारेज गरेका छन् । उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन । यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन । भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज हुँदैन ।’
दाबीको अनुसन्धान गरिने
नासिकका जिल्ला चिकित्साधिकारी डा. अशोक थोराटले बीबीसीसँगको कुराकानीमा यसबारे आफूलाई सोसल मिडियामार्फत जानकारी भएको बताए । उनले भने, ‘हामी यसबारे अनुसन्धानका लागि विशेषज्ञ दल पठाइरहेका छौँ । त्यसपछि सरकारलाई आफ्नो रिपोर्ट दिनेछौँ । त्यसपछि सरकारी निर्देशनका अनुसार यसलाई हेरिनेछ ।’
अशोक थोराटले कोरोना भ्याक्सिनले यस्तो प्रकारको कुरा हुनै नसक्ने बताए । उनले भने, ‘हालसम्मको मेडिकल करियरमा यस्तो केस कहिले पनि देखिएको थिएन । सोनारको शरीरमा आएको यो परिवर्तनबारे थाहा पाउन महत्त्वपूर्ण छ । यो एक अनुसन्धानको विषय हो ।’
इन्डियन मेडिकल एसोसिएशनका सदस्य समीर चन्द्रारातेले समीर चन्द्रारातेले भने, ‘यसको कोभिड भ्याक्सिनसँग कुनै लेनादेना छैन । भ्याक्सिन लिएपछि दुखाई ज्वरो आउन सक्ला । यसबाहेक यस्ता कुरा हुन्छन् भने यसलाई भ्याक्सिनसँग जोड्न मिल्दैन । यस्ता अफवाहले खोप अभियान प्रभावित हुनेछन् । भौतिक वैज्ञानिक र धातु वैज्ञानिकले यस्ता मानिसहरूको शरीरमा धातुजन्य पदार्थ कसरी टाँस्सिन्छन् भनेर अध्ययन गर्नुपर्छ ।’ (बीबीसीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस