
काठमाडौँ। साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
यसअघि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको आधा घण्टामा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा स्वीट्जरल्यान्डले विजयी पाँच गोल गर्दा फ्रान्स स्तब्ध बनेको हो ।
हारसँगै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ । साविक विजेता पोर्चुगल बाहिरिएको चौबिस घण्टा नबित्दै उपविजेता फ्रान्स पनि यसपटकको युरोबाट बाहिरिएको हो । पोर्चुगललाई बेल्जियमले हराएको थियो ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । योसँगै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा पुगेको छ भने विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ ।
अब स्विट्जरल्यान्डले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डले समूह 'ए' बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
प्रतिक्रिया दिनुहोस