
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि २१ देशमा अन्तर्राष्ट्रिय तर्फको उडान तालिका सार्वजनिक गरेको छ । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाको उडान तालिका सार्वजनिक गरेको हो ।
नेपाली वायुसेवा कम्पनीको उडान गन्तव्य नभएका मुलुकमा भने सम्बन्धित देशका वायुसेवा कम्पनीले सेवा दिनेछन् । कोरिया, टर्की, कुवेत र ओमानमा सम्बन्धित देशका एयरलाइन्सले नै सेवा दिनेछन् । कोरिया र चीनका लागि नियमित उडान नेपालबाट खोले पनि कोरिया र चीनका कम्पनीले भने नेपालका लागि उडान अनुमति मागेका छैनन् ।
प्राधिकरणले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एयरलाइन्सले नयाँदिल्ली, दोहा, दुबई, क्वालालाम्पुर र जापानको नारिता उडान गर्ने उल्लेख छ । नेपालबाट अर्को हिमालय एयरलाइन्सले साउदी अरबको दमाम, युएईको दुबई र मेलेसियाको क्वालालाम्पुर उडान गर्न अनुमति पाएको छ ।
नेपालबाट यात्रु लैजान पाउने विदेशी कम्पनीहरूमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । नेपालबाट यी विमान कम्पनीले नियमित उडान भर्न पाउने भएपछि भाडादर भने ट्राभल्स एजेन्सीले मनपरी गरेका कारण करिब ३ गुणासम्म पर्ने देखिएको छ ।
२ महिनाको विदामा आएर पुन दुबई फर्कन लागेका कमल सिटौलाले दुबई जानका लागि करिब ५० हजारसम्म तिर्न पर्ने भएको छ । उनले भने, ‘कम्पनीले चाडो आइज भन्छ तर, टिकट नै पाइदैन पाइएपनि महगो छ । नेपालमा बस्नुभन्दा महगो टिकट काटेर भएपनि जान पर्ने बाध्यता छ किन कि भिसाको समय पनि सकिन लागेको छ ।’
त्यस्तै, कतारको भिसा लगाएर कतारको एक होटलमा काम गर्न जान तयारी अबस्थामा रहेका झापाकै मदन खुलालको अबस्था पनि त्यस्तै छ । कतारबाट कम्पनीले नै टिकट पठाउने भएकाले टिकटका लागि महगो रकम तिर्न पर्ने भएकापछि कम्पनीले कहिले टिकट सस्तो होला र अनि टिकट काटेर पठाइदेला भनेर काठमाडौंमा नै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस