aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पर्यटनमा पूर्वाधारविना २० लाख पर्यटन ल्याउन मुस्किल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
पर्यटनमा पूर्वाधारविना २० लाख पर्यटन ल्याउन मुस्किल

काठमाडौं । सरकारले एक वर्षमा झण्डै दोब्बर २० लाख पर्यटक भित्र्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी शुरु भएका छन्।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन्। सरकारले यो वर्ष ९सन् २०१९० प्रचारप्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो। एक वर्षको तयारीमा झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन व्यवसायी अलमलमा छन्। सरकारले चमत्कारिक काम गरेमात्र लक्ष्य फेला पर्ने उनीहरुको भनाइ छ।

पूर्वाधार विकासबिना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकै वर्षमा तयार नहुने धारणा व्यवसायीको छ। पर्यटन व्यवसायी लिलाबल्लभ दाहालका अनुसार नेपाल पर्यटकीय गन्तव्यका हिसाबमा भरिपूर्ण देश हो। तर, ती गन्तव्य भ्रमणका लागि पर्यटकलाई सहज छैन। उनका अनुसार नेपालले हवाई कनेक्टिभिटी बढी देशमा गर्न नसक्दा ठूलो संख्यामा पर्यटक आउने सम्भावना छैन।

‘पर्यटक आउन सबैभन्दा पहिला आवश्यक पर्ने हवाई कनेक्टिभिटी हो,’ टानका पूर्वकोषाध्यक्षसमेत रहेका दाहालले भने, ‘नेपालले केही सीमित छिमेकी देशसहित ६ देशमा मात्रै हवाई सेवा थालेको छ। चीन, श्रीलंकालगायत देशबाट लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना हुँदाहुँदै पनि नेपालले ती देशमा उडान गर्न सकेको छैन। यसले नेपालको पर्यटन बजार खुम्च्याएको छ।’

उनका अनुसार एकातिर नेपालसँग पर्याप्त जहाज छैनन् भने अर्कातिर भएकै जहाजलाई पनि पर्याप्त नउडाउँदा पर्यटन बजारलाई फड्को मार्न समस्या छ। सरकारले राम्रोसँग पूर्वतयारी नगरेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको दाहालको भनाइ छ। अर्का पर्यटन व्यवसायी आङपेम्बा शेर्पा पनि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन असम्भव देख्छन्। ‘जताततै स्थानीय तहले कर थपेर पर्यटकलाई भार बढाइरहेका छन्,’ टानका महासचिवसमेत रहेका शेर्पाले नागरिकसँग भने, ‘पर्यटकीय हिसाबले नेपाल आउने पर्यटक खुसी नै रहे पनि प्रक्रियागत हिसाबले असन्तुष्ट छन्।’

उनका अनुसार विभिन्न बाधा अड्चनले पर्यटक खुसी भएर फर्किने वातावरण छैन। यसले पर्यटक आगमन घटाउँछ र सरकारले लक्ष्य फेला पार्दैन। सरकारले पर्यटकमैत्री वातावरण बनाउन नसकेको आरोप शेर्पाको छ। ‘नेपालमा २० लाख पर्यटक भित्र्याउन गाह्रो छैन,’ उनले भने, ‘तर अहिलेकै अवस्था र वातावरणमा भने गाह्रो छ।’ उनले हुँदैन भनेर चुप बस्न नहुने र सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए। ‘सरकारको लक्ष्यअनुसार टान पनि पर्यटन वर्षलाई सफल बनाउन सक्दो लागिपरेको छ,’ शेर्पाले भने।

पर्यटन बोर्डका सिइओ दीपकराज जोशीका अनुसार भ्रमण वर्ष सफल बनाउन बोर्डले धेरै कार्यक्रम अगाडि सारेको छ। ‘हामी भ्रमण वर्षको काममै केन्द्रित छौं। अहिलेको प्रमुख काम प्रचारप्रसार हो,’ जोशीले भने। व्यवसायीले भने बोर्डले प्रचारप्रसारलाई जोड दिएको भने पनि त्यो पर्याप्त नभएको बताए। पर्यटन व्यवसायी आङबाबु शेर्पाले सरकारले प्रचारप्रसार नै गर्न नसकेको आरोप लगाए। ‘सरकारले धेरै गर्नै पर्दैन,’ उनले भने, ‘विमानस्थल, जहाजजस्ता पूर्वाधार तयार गरेर प्रचारप्रसारमा जोड दिए पुग्छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस