aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

रेल चल्ने मिति अझै अनिश्चित, महाप्रबन्धक भट्टराईको बोली झुट्टा साबित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
रेल चल्ने मिति अझै अनिश्चित, महाप्रबन्धक भट्टराईको बोली झुट्टा साबित

काठमाडौं । भारतबाट किनेर ल्याएका रेल कहिले सञ्चालनमा आउलान् यो सबैको चासोको विषय हो।  तर, यसको जवाफ स्वयम् नेपाल रेल्वे कम्पनी लिमिटेडसँग नै छैन भन्ने थाहा पाउँदा भने अचम्म नै लाग्छ।  

जयनगर–जनकपुर खण्डमा कहिलेदेखि रेल गुड्छ भन्ने कुरामा अझैसम्म पनि नेपाल रेल्वे कम्पनी लिमिटेड बेखबर छ । नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा हुने बित्तिकै सञ्चालनमा आउने त्यसका अधिकारीहरुले बताउँदै आएका थिए। तर, असार २५ गते शुक्रवार तालिम सकिएपछि भने रेल सञ्चालन हुने मिति बारे अनभिज्ञता प्रकट गरिरहेका छन्। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका निमित्त प्रशासकीय अधिकृत तुला बहादुर डाँगीले रेल सञ्चालन गर्ने मितिका सम्बन्धमा केही निर्णय नै नभएको बताए । सो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिने उनले जानकारी दिए । उनले भने, “कोभिडका कारण तालिम रोकिएको थियो।  त्यो कर्मचारीको तालिम त शुक्रवार नै सकिएको छ । अब रेल कहिले देखी गुड्छ भन्ने मलाई जानकारी छैन।  त्यो निर्णय मन्त्रालयले नै लिने हो ।”

गत असोज २ मा भारतबाट ल्याइएका दुई वटा रेल अझै कति दिन थन्किएर रहने हुन् भन्ने कुरामा सम्बन्धित निकायका अधिकारीहरूको यस्तो भनाइले थप आन्योलता थपिएको छ । 

नेपाल रेलवे कम्पनीले वैशाख महिना भित्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिरहँदा निषेधाज्ञाका कारण सो काममा ढिलाइ भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले जानकारी दिएका थिए । निषेधाज्ञाको कारण रोकिएको तालिम सकिए लगत्तै रेल सञ्चालनमा आउने भनिएकोमा अहिले भने सो कम्पनीले दोष मन्त्रालय तिर पन्छाएको छ।  

हुन त जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनमा आइहाल्छ भनिएको यो पहिलो पटक भने होइन । तथापि कर्मचारीको तालिम सकिने बित्तिकै रेल चलाउने महाप्रबन्धकको भनाइ भने केही विश्वासनिय मानिएको थियो । उनले भनेका थिए, “निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा तालिम सञ्चालन भइरहेको थियो, जुन तालिम एक महिनाको हो, तर तालिम १० दिन मात्र चल्यो । अझै २० दिनको तालिम बाँकी छ । त्यो सकिने बित्तिकै रेल चल्छ।” तर, उनको त्यो भनाइ  पनि झुट ठहरिएको छ । 

यसअघि वैशाख १६ गते निषेधाज्ञा जारी भएसँगै तालिम पनि बन्द गरिएको थियो । कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मका सबै तयारी सकिएको बताइएको थियो। अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नहुने भट्टराईको भनाई थियो । 

यस अघि विभिन्न समयमा रेल सञ्चालनमा आउन लाग्यो भन्ने जे जस्ता हल्ला गरे पनि तयारी बिना नै त्यसो घोषणा गर्ने गरिएको उनको आरोप थियो । तयारीका विभिन्न प्रक्रिया अन्तर्गत कर्मचारी भर्ना गर्न लाग्दा पनि लोकसेवाले बखेडा खडा गरेको उनको भनाई थियो । "त्यसपछि अन्य विधिबाट कर्मचारी ल्याउन अनेक प्रयास भए । त्यस्तै दुई वर्ष भयो होला रेलवे सम्बन्धी एन संसद्मा दर्ता भएको तर त्यहाँबाट पास हुन नसकेर अल्झी राखेको थियो।"  उनले अगाडी थपे, "कहिले संसद् भङ्ग हुने, कहिले पुनर्स्थापना हुने, कहिले संसद् नचल्ने तमासाले गर्दा केही ढिलाइ भयो । अहिले अध्यादेशबाट ऐन आएपछि भने सहज भएको छ। ’

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न अढाई सय कर्मचारीको दरबन्दी सिर्जना गरेको भए पनि लगभग सवा दुई सय जति कर्मचारी राखेर रेल सञ्चालनमा ल्याउने तयारीमा रेलवे कम्पनी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुने बित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएपछि रेलको कुरा फेरी चर्चामा आएको थियो । मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन निर्देशन दिएका थिए । तर त्यो निर्देशनको पालना कहिले कम्पनीले कहिले गर्ने  हो, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस