aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

गौतम बुद्ध विमानस्थलले गर्‍यो ‘क्यालिब्रेशन फ्लाइट’को तयारी, ९७.४८ प्रतिशत निर्माण सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
गौतम बुद्ध विमानस्थलले गर्‍यो ‘क्यालिब्रेशन फ्लाइट’को तयारी, ९७.४८ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । रुपन्देहीको भैरहवामा ६ वर्ष अघि देखि काम सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ९७.४८ प्रतिशत भौतिक प्रगति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो । चालु असार महिनामा मात्र करिब ०.४९ प्रतिशतको भौतिक प्रगति भएको प्राधिकरणले जनाएको छ । 

निर्माण सुरु हुनुपुर्व ६ अर्ब २२ करोड प्रारम्भिक लागत आनुमान गरिएको यस आयोजनाको संशोधित लागत ६ अर्ब ८२ करोड रहेको छ । जसमध्ये चालु आर्थिक वर्षमा ३ अर्ब २८ करोड २३ लाख ८९ हजार ३८१ रुपैयाँ बजेट छुट्याएको थियो । असार मसान्त सकिन लाग्दासम्म सो रकमबाट  ८९ करोड २९ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

प्राधिकरणका अनुसार हालसम्म वित्तीयतर्फ समग्रमा ७६ प्रतिशत प्रगति भएको छ । विमानस्थलको रनवे तर्फको लाइट जडान कार्य भइसकेको छ । ट्याक्सी वे लाइट जडान कार्य पनि अन्तिम चरणमा रहेको छ । एयर कन्डिस्नीङ सिस्टम जडान तथा इनटेरियर फिनिसिङको काम भइरहेको छ । साथै विमानस्थल प्रवेशद्वार निर्माण कार्य पूरा भएको छ ।

आईसीबी ओटुमा उपकरण जडानको काम सकिसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् । प्रवक्ता क्षेत्रीका अनुसार चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभीएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संरचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नि निवारण तथा कन्ट्रोल टावरको काम पनि सकिएको हो ।

विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्यान्डले पाएको थियो । जडानको काम थाइ जनशक्ति र चिनियाँ जनशक्तिले गरेका थिए । 

विमानस्थल निर्माण २ चरणमा भइरहेको छ । आइसीबी १ र आइसीबी २ गरी दुई चरणमा काम भइरहेको उनले जानकारी दिए । भ्याटसहित ६ अर्ब ८२ करोडको रुपैयाँ आइसीबी १ को बजेट रहेको छ । आइसीबी २ को बजेट ५० करोड रुपैयाँ रहेको छ । सुरुमा आइसीबी १ का लागि ६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ‘क्यालिब्रेशन फ्लाइट’ (परीक्षण उडान) को तयारी समेत गरिरहेको छ । गएको वैशाख महिनामा नै क्यालिब्रेशन फ्लाइट गर्ने तयारी गरिए पनि निषेधाज्ञाका कारण रोकिएको थियो । अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुलेसँगै विमानस्थलले क्यालिब्रेशन फ्लाइट गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले चालू आर्थिक वर्षभित्रै उडान सुरु गर्ने गरी काम भइराखेको भए पनि कोभिडका कारणले केही ढिलाइ हुन गएको बताए । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२१ जनवरीमा सञ्चालन गर्ने तयारी रहेको थियो। तर , अझै काम सकिएको भने छैन। कोभिडका कारण निषेधाज्ञा हुँदा उडानहरू बन्द रहेको थियो । जसका कारण क्यालिब्रेशन फ्लाइटको काम रोकिएको हो । उनले भने ‘चालू आव भित्रै उडान शुुरु गर्ने गरी काम गरिरहेका थियौँ, कोभिडका कारण केही ढिलाइ भएको छ, अहिले हवाई उडान खुला भएको छ । अब चाँडै क्यालिब्रेशन उडान गर्नेछौँ ।’

क्यालिब्रेशन फ्लाइट लागि विदेशबाट जहाज ल्याउनुपर्ने हुन्छ । विमानस्थलहरूमा उडान बन्द हुँदा सो परीक्षणको काममा ढिलाइ भएको हो । हाल विशेष फ्लाइट मार्फत जहाज ल्याउने तयारी भइरहेको छ । त्यसका लागि विदेशबाट उडानको परमिट लिनु पर्ने हुन्छ भने परमिट स्वीकृत हुनका लागि १ साता जति लाग्ने उनको अनुमान छ । उडानका लागि इन्टरनेसनल सिभिल कर्पोरेसनसँग छलफल हुने र स्वीकृति पछि उडान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस