
झापा । झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ५ मा अवस्थित नमूना सहकारी खेती बिउ उत्पादन समूहले प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ बनाएको छ। सरकारले छनौट गरेका पर्यटकीय १०० गन्तव्य मध्येको एक यो समूहले भ्रमणमा आउने पाउनलाई लक्षित गरी ५० जना अट्ने क्षमताको वातानुकूलित पाहुना घर बनाएको हो ।
प्रदेश नम्बर १ मै पहिलो पटक किसानहरूको समूहले निर्माण गरेको यो पाहुना घरको निर्माण लागत दुई करोड ५० लाख रहेको छ। नेपालमा कृषि पर्यटन प्रवर्द्धनको उद्देश्यले सरकारी आर्थिक सहयोग र स्थानीय जनसहभागितामा यो निर्माण भएको सो समूहका अध्यक्ष वेदनिधि चापागाईँले बताए।
उनका अनुसार कोभिड–१९ का कारण निर्माण सम्पन्न भए पनि हाल सो पाहुना घर सञ्चालनमा आउन सकेको छैन। महामारीको समयमा सो समूहले गौरादह नगरपालिकाका लागि यो पाहुना घर आइसोलेसन सेन्टरको रूपमा सञ्चालन गर्न दिएको थियो। त्यस बेला पनि एसी सुविधा सहितको आइसोलेसन सेन्टरको रूपमा यसको चर्चा भएको थियो।
कृषि पर्यटनलाई लक्षित गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १५ कठ्ठा जमिनमा निर्माण भएको 'कृषि होमस्टे' आकर्षक र सुन्दर छ । तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा सुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा १०० जनासम्म सहभागी राखेर तालिम सञ्चालन गर्न मिल्ने हल समेत बनेको छ ।
झापाको दमक बजार देखि दुई किलोमिटर पूर्व रहेको पूर्व-पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट १० किलोमिटरको दूरीमा दक्षिणतर्फ रहेको यो खेतीमा देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भ्रमणमा दैनिक ठुलो सङ्ख्यामा पाहुनाहरू आउने गरेका छन्।
यो समूहले पाहुना घरलाई व्यावसायिक बनाएर नाफा कमाउने उद्देश्य भने नराखेको चापागाईँ बताउँछन्। उनी भन्छन्, "नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले पाहुना घर बनाएका हौँ। अवलोकन भ्रमणमा देशभरबाट आउने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।”
होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा ५० लाख रुपैयाँ, २०७६/०७७ मा ६५ लाख रुपैयाँ र चालु आव २०७७/०७८ सालमा ४५ लाख रुपैयाँ गरी कूल एक करोड ६० लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा एक करोड २० लाख रुपैयाँ खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ ।
उनले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति २०० रुपैयाँ मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वाद अनुसारका खानाको व्यवस्थासमेत हुने बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ। त्यो पाहुनाको सेवाको तयारी स्वरूप गरिएको हो। पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको अत्याधुनिक चमेना गृहसमेत निर्माण भएको छ ।
न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने बताउँदै उनले भने, “बासमती चामलको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौँ। ” कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोड लगायतका सहरमा रहेका होटलसम्म पुग्नुपर्ने बाध्यतालाई यसले अत्य गरेको छ । पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादह मै कृषि क्याम्पस समेत रहेका छन्।
सो समूहले पाउन घरसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायी पूर्वक समय बिताउन सहयोग पुर्याउने उद्देश्यले सो पोखरीको डिलमा रहेको पाहुना घर परिसर मै मिलन केन्द्र निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस