aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सेटींगमा नयाँ दर्ता रोकेर ट्याक्सीवालाको मनोमानी

  • अनुषा थापा
    अनुषा थापा
  • बुधबार, ०६ साउन २०७८
सेटींगमा नयाँ दर्ता रोकेर ट्याक्सीवालाको मनोमानी

काठमाडौँ। बर्दिबास घर बताउने चन्द्र  बुढाथोकीको परिवार जम्बो-हायस चढेर काठमाडौँको कोटेश्बरसम्म आयो। त्यहाँ पुगिसक्दा उनको पुरै परिवार थाकिसकेको थियो । त्यसैले श्रीमती र बालबच्चासहित आफ्नो गन्तव्य सम्म पुग्न ट्याक्सीको खोजीमा लागे । धेरै वटा ट्याक्सीसँग कुरा गर्दा पनि केही सिप नलागेपछि अन्त्यमा ४०० रुपियाँ भाडा कबुल गरेर शंकमुलसम्म पुगे। 

त्यस्तै, छोरीको उपचारको लागि सिभिल अस्पताल पुगेका श्याम श्रेष्ठ घट्टेकुलोसम्म जान ५ सय रुपयाँ तिर्न बाध्य भए। उनले यात्रा गरेको ट्याक्सीले समेत मिटरमा जान नमानेकाले उनीसँग ५०० रुपैयाँ कबुलेर यात्रा गर्नुको विकल्प थिएन। दैनिक हजारौँको सङ्ख्यामा सोझासाझा यात्रुहरू ट्याक्सी व्यवसायीबाट ठगिने गर्छन् ।

बुढाथोकी र श्रेष्ठ त प्रतिनिधि पात्र मात्र हुन् । उपत्यकाको सडकमा हामीले देख्ने गरेका सबै जसो ट्याक्सीले मिटरमा यात्रु बोक्न मान्दैनन् । केही बर्षअधि ट्राफिक महाशाखाले सार्वजनिक यातायातको भाडाको अनुगमन गर्नको लागि सदा पोसाकमा  ट्राफिक प्रहरीहरू खटाएको थियो । ती ट्राफिक प्रहरीहरूले मिटरमा सेवा गर्न नमान्ने ट्याक्सीहरूलाई कारबाही गर्थे । तर, अहिले ट्राफिक महाशाखाले मिटरमा नहिँड्ने ट्याक्सीहरूलाई अनुगमन गर्ने गरेको छैन। 

यसरी ट्याक्सी सञ्चालकहरूले मनपरी भाडा असुल गर्नुको खास कारण के हो भने उनीहरूले एक प्रकारको सिन्डिकेट अहिले पनि कायमै राखेका छन्।  प्रतिस्पर्धा हुन नदिने गरी नयाँ ट्याक्सी दर्ता रोकिएको छ। सार्वजनिक यातायात व्यवसायीहरू नै आफूहरू र ट्याक्सी व्यवसायीहरूको मिलेमतो र दबाबमा नयाँ ट्याक्सी दर्ता रोकिएको चर्चा गरिन्छ। 

सो चर्चालाई सत्य साबित गर्दै एक जना ट्याक्सी व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, "हामी ट्याक्सी व्यवसायीले पैसा उठाएर नयाँ ट्याक्सी दर्ता नखोल्नको लागि खर्च गर्ने गरेका छौँ।" नेपाल मिटर ट्याक्सी सेवा प्रालिको अध्यक्ष हरिकृष्ण बस्नेतले पनि यस सम्बन्धमा प्रतिक्रिया दिन अस्वीकार गरे।" उता यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले पनि यसबारे प्रतिक्रिया दिन इन्कार गरे।

प्रतिक्रिया दिनुहोस