aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोना संक्रमणदर बढ्यो, स्वास्थ्य मन्त्रालयले दियो तेस्रो लहरको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
कोरोना संक्रमणदर बढ्यो, स्वास्थ्य मन्त्रालयले दियो तेस्रो लहरको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको एक हप्तामा कोरोना संक्रमणको दर बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण निकाय र पक्षहरू कोरोना सङ्क्रमण नियन्त्रणको काममा सक्रिय रहँदा समेत संक्रमणदर नघटेको जनाएका हो । 

मन्त्रालयले भनेको छ– यो महामारीमा भाइरस विरुद्धको युद्ध कुनै व्यक्ति निकायको एक्लैको युद्ध होइन । यसका लागि सबै मन्त्रालयहरू, प्रदेश र स्थानीय तह, सबै सरकारी निकायहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । हामी सबै यसरी लागि पर्दा पनि यो सङ्क्रमण जति घट्नु पर्ने हो त्यति घट्न सकिरहेको छैन ।

हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेकोप्रति मन्त्रालयले चिन व्यक्त गरेको छ । साथै मन्त्रालयले विगत एक हप्तामा सङ्क्रमित हुने दर बढ्दो क्रममा रहेको जनाएको छ । 

मन्त्रालयका अनुसार हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् र २०० माथि सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू २६ वटा छन् । जसमा अघिल्लो हप्ताको तुलनामा धेरै जिल्ला थपिएका छन् ।

साथै मन्त्रालयले सम्पूर्ण आम समुदायलाई आ–आफ्नो पालोमा खोप लगाउन तथा पालो आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा आधिकारीक परिचय पत्रका साथ जानुहुन तथा खोप केन्द्रहरूमा जाँदा पनि जनस्वास्थ्यका मापदण्डहरूको पालनामा ध्यान दिनुहुन अनुरोध गरेको छ ।

संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्त दुरुस्त राख्न मन्त्रालयले अनुरोध गरेको छ ।  

 

प्रतिक्रिया दिनुहोस