
काठमाडौं । धादिङमा कोरोना विरुद्धका खोप लगाएका एक जनाको शुक्रबार दिउँसो मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका नगरप्रमुख भीम प्रसाद ढुंगानले नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारका ७८ वर्षिय नरबहादुर श्रेष्ठको खोप लगाएको केहिबेरमै मृत्यु भएको बताए ।
नगरप्रमुख ढुंगानाले आर्थिन्युजसंग भने, ‘कोरोना विरुद्धको अमेरिकन खोप जोन्सन एन्ड जोन्सन खोप लगाएको ४०/४५ मिनेटमा श्रेष्ठको मृत्यु भएको हो । उनको मृत्यु खोपकै कारण हो वा अन्य कारण हो भनेर अहिलेनै भन्न सकिदैन ।’
ढुंगानाका अनुसार उनी मधुमेहका रोगी पनि थिए । उनको मृत्युबारे अध्ययन गर्न नगरपालिकाले यसबारे अध्ययन गर्न एउटा समिति नै गठन गरेका छ । नगरप्रमुख ढुंगानाले भने, ‘मृत्युको कारणबारे अध्ययन गर्न समिति बनाएका छौं । यसबारे स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराइसकेका छौं ।’
उनका अनुसार मृतक श्रेष्ठ खोप लगाएको केहि समयपछि बेहोस भएका थिए । उनी खोप लगाएर घर पुग्नासाथ बेहोस भएका हुन् । त्यसपछि लगतै उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा श्रेष्ठको बाटोमै मृत्यु भएको हो ।
मृतक श्रेष्ठको पोष्टमार्टमका लागि टिचिङ हस्पिटल महाराजगञ्ज काठमाडौं पठाउन लागिएको नगरप्रमुख ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस