
रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।
मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य चलिरहेको कारणले गर्दा लुक्लाको लागि रामेछापको मन्थलीबाट विमानहरुले उडान भर्दै आएका छन्।
बैशाख १ गते पनि लुक्लामा समिट एयरको जहाज दुर्घटना भएको थियो । उडान भर्नै लाग्दा ९ एन–एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस