aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माथिल्लो तामाकोसीमा जटिल मानिएको तल्लो ठाडो र माथिल्लो ठाडो सुरुङमा वैशाखमै पेनस्टक पाइप जडान शुरु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
माथिल्लो तामाकोसीमा जटिल मानिएको तल्लो ठाडो र माथिल्लो ठाडो सुरुङमा वैशाखमै पेनस्टक पाइप जडान शुरु हुने

दोलखा, वैशाख ९ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा वैशाख २२ भित्रमा पेनस्टक पाइप जडान शुरु हुने भएको छ भने माथिल्लो ठाडो सुरुङमा पनि वैशाखभित्र पेनस्टक पाइप जडान शुरु हुने भएको छ। 

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन् । अब ती बेन्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान शुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ । 

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ । 

नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनस्थलको निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । 

कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन् । बैठकमा टेक्स्म्याकोका मुख्य कार्यलयका प्रमुख कार्यलयका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल  ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो । 

‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तीव्रता दिनुहोस्,’ घिसिङले निर्देशन दिए । ‘विद्युत गृहको काम सकिएर त्यहाँ रहेका टर्वाइनहरु पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरवको आयोजनाको आपूmले लिएको जिम्मेबारी छिट्टो पूरा गरी दिनुहोस् ।’ 


आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । 

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।  आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब,नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१,नेपाल टेलिकमको ६,नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ ।

 
कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०,संचय कोषका संचयकर्ता,कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ । 
 

प्रतिक्रिया दिनुहोस