
एजेन्सी। पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले पन्ध्र वर्षअघि इरानी महान् फुटबलर अली दाईले बनाएको १ सय ९ गोलको कीर्तिमान भङ्ग गर्दै नयाँ रेकर्ड बनाएका हुन्। विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति पोर्चुगलको स्टाडियो अल्गार्भमा आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय १० गोलको कीर्तिमान बनाएका हुन् ।
फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ ।
रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए । पेनाल्टी लिनुअघि रोनाल्डोले आयरल्यान्डका डारा ओ’सेमाथि हात उठाएपनि रेफ्रीले कारवाही गरेका थिएनन् ।
हारतर्फ उन्मुख पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।
२८ औं मिनेटमा पोर्चुगल खेलमा अग्रता लिनबाट पुन: चुक्यो । जोआओ क्यान्सेलोको क्रसमा डिओगो जोटाको हेडर पोस्टमा लाग्दै बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल रह्यो । जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।
दोस्रो हाफको सुरुवातबाट नै पोर्चुगलले आक्रमणलाई थप जोड दिएको थियो । तर टोलीको एकपछि अर्को आक्रमणलाई आयरल्यान्डको डिफेन्सले अघि बढ्न दिएन । ७४ औं मिनेटमा बर्नार्डो सिल्भाले सुवर्ण अवसर खेर फाल्दा पोर्चुगल खेलमा फर्कन सकेन । उनले पेनाल्टी क्षेत्र भित्र दुई डिफेन्डरलाई छक्याएर गरेको अन्तिम प्रहारले पोस्टभन्दा माथिबाट गएको थियो ।
८१ औं मिनेटमा आन्द्रे सिल्भाको एक्रोब्याटिक प्रहार बाहिरियो । ८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी क्षेत्रको ठिक बाहिर फ्रिकिकको अवसर पाएको थियो । रोनाल्डोको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै पाएको कर्नरमा पोर्चुगलले खेल बराबरी गर्यो । गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए । एक समय हारतर्फ उन्मुख टोलीलाई रोनाल्डोले अन्त्यतिर उत्कृष्ट फिनिसिङको नमुना प्रस्तुत गर्दै जित दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस