
एजेन्सी । जारी संस्करणको विश्वकप क्रिकेटको उपाधि जित्ने सपनामा न्युजिल्याण्डले तगारो हालिदिएको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको खेलमा भारत न्यूजिल्याण्डसँग १८ रनले पराजित भएको हो ।
म्यान्चेस्टरको वल्र्ड ट्राफोर्ड मैदानमा भएको खेलमा न्यूजिल्यान्डले दिएको २४० रनको लक्ष्य पूरा गर्न नसक्दा भारतको उपाधि जित्ने सपना तुहिएको हो । यहाँ हामीले भारत हार्नुको ५ कारणको बारेमा चर्चा गरेका छौं ।
१. टप अर्डरका ब्याट्सम्यान नचल्नु
विश्वकप क्रिकेटभर भारतका टप अर्डरले शानदार ब्याटिङ गरिरहेका थिए । रोहित शर्माले पाँच शतक हान्दै सबैभन्दा बढी रन उनकै छ । केएल राहुलसँगको साझेदारी पनि अब्बल रहेको थियो । तर बुधबार यी दुबै १ रनमै आउट भए ।
२. ऋषभ पन्तको खराब सट सेलेक्सन
आफ्नो मुख्य ३ ब्याट्सम्यान मात्र पाँच रनमै आउट भए । त्यसको लगत्तै सबैको आशा युवा ब्याट्सम्यान ऋषभ पन्तमा थियो । उनले राम्रो ब्याटिङ गरिरहेका थिए । जब २२.५ ओभरको खेल चल्दै थियो आफ्नो अनुभवको कमीले गर्दा पन्तले गराब सट खेल्दै क्याच आउट हुन पुगे । न्यूजिल्यान्डका सान्टनरले बलिङ गरेको बललाई बचाउ गरेर खेलेको भए पन्त आउट हुने थिएनन् । उनी ५६ बलमा ३२ रन जोडेर पेभिलियन फर्के ।
३. दबाबलाई सम्हाल्न नसकेका हार्दिक पान्ड्या
इङ्ल्यान्डमा सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफिमा पाकिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका हार्दिक पान्ड्या महेन्द्र सिंह धोनी भन्दा अगाडि ब्याटिङ गर्न मैदानमा उत्रेका थिए । न्यूजिल्याण्डका बलर सान्टनरको सिधा आएको बललाई स्लग स्विप खेल्नु नै उनको लागि दुर्भाग्य रह्यो । पान्ड्याले ६२ बल खाँदै ३२ रन जोडे ।
४. धोनीलाई अगाडि ब्याटिङ गर्न नपठाउनु
जब भारतीय टिमले विकेट गुमाईरहेको थियो त्यस समय विकेटको बचाउ गरेर खेल्नुपर्ने दबाब थियो । किनभने भारतले धेरै रन बनाउन सकेको थिएन । सबैलाई थाहा थियो कि ३५० एकदिवशीय क्रिकेट खेलिसकेका धोनीसँग मात्र यो क्षमता थियो । तर मैदानमा हार्दिक पान्ड्या आए र औसत खेल खेल्दै पेभिलियन फर्किए । धोनी ७ नम्बरमा मात्र ब्याटिङ गर्न मैदानमा आए ।
५. खराब साझेदारी
भारतीय टिमलाई राम्रो साझेदारी बनाउने टिमको रुपमा चिनिन्छ । चाहे त्यो ओपनिङको लागि होस् या बिराट कोहलीको साथ होस् । तर टप ३ ब्याट्सम्यान जम्मा १–१ रनमै आउट भए । भारतले ९२ रनमै ६ विकेट गुमायो । रबिन्द्र जडेजा (७७) र महेन्द्र सिंह धोनी (५०) रन जोड्दै ११६ रनको साझेदारीले भारतलाई जीत दिलाउन सकेनन् । यस्तै रिषभ पन्त र हार्दिक पान्ड्याले ४७ रनको साझेदारी खेले । यी दुई बाहेक कसैको साझेदारी जम्न सकेन ।
प्रतिक्रिया दिनुहोस